post-slider post-slider

गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Image
A A

काठमाडौं- सप्तरीको बलान बिहुल गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रुबी गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्।

विशेष अदालतले गुप्तासहित अन्य ९ जनामाथि पनि कसुर कायम हुने फैसला गरेको हो।

विशेष अदालतका सदस्यत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले बुधबार यस्तो फैसला गरेको हो।

विशेषका उपरजिष्ट्रार नारद भट्टराईका अनुसार तत्कालीन उपप्रमुख गुप्तालाई ६ महिना कैद सुनाइएको छ। त्यस्तै अर्का दुई प्रतिवादीहरु सन्तोष रजक र महेशकुमार यादवलाई पनि जनही ६–६ महिना कैद सुनाइएको छ।

गुप्ता र रजकलाई २५– २५ हजार जरिवानासमेत तोकिएको छ।

रजक तत्कालीन शाखा प्रमुख र सवइन्जिनियर यादव गाउँपालिकाका प्रशासकीय अधिकृत हुन्।

विशेषले यादवलाई २५ हजारका साथै थप ७३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

बलान बिहुल गाउँपालिका–४ को अधुरो वडा कार्यालय निर्माणमा भए गरेको कार्यभन्दा बढी किताबमा देखाइ भुक्तानी गरिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ४ वैशाखमा ९ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाएको थियो।

यो मुद्दामा गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशमरिक यादव र कार्यपालिका सदस्य हरिप्रसाद मोची पनि भ्रष्टाचारी ठहर भएका छन्।

उनीहरु दुवैलाई ३–३ महिना कैद सजाय सुनाइएको छ। यसका साथै विशेषले दुवै जनालाई १०–१० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ।

मरिकलाई भने ७३ हजार रुपैयाँ थप जरिवाना गरिएको छ।

त्यस्तै गाउँपालिकाका तत्कालीन सहलेखापाल सुभाषचन्द्र लाल पनि दोषी देखिएका छन्। उनलाई विशेषले तीन महिना कैद र १० हजारका साथै थप ७३ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ।

वडा भवन  निर्माण उपभोक्ता समितिका अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र तत्कालीन सचिव शिवशंकर मण्डल पनि दोषी ठहर भएका छन्।

सुशील, रम्भा र मण्डललाई ७३ हजार रुपैयाँ जरिवाना र दामासहितले बिगो असुल उपर गर्ने फैसला विशेषले सुनाएको छ।

अख्तियारले वडा कार्यालय भवन निर्माणका क्रममा भए गरेको कामभन्दा बढी देखाएर १० लाख ५ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको दाबी गर्दै उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

Tags: