post-slider post-slider

चाडबाडमा ड्रोनबाट पनि निगरानी

Image
A A

काठमाडौं- केही साताअघि मलंगवा र धरानमा भएका साम्प्रदायिक तनावको पृष्ठभूमिमा यसपालि चाडबाडका बेला थप सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

कुनै प्रकारका अप्रिय घटना हुन नदिने गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

प्रहरीले दसैं, तिहार र छठलाई लक्षित गरेर असोज २१ गतेबाट सुरू गरी छठ पर्व अर्थात मंसिर ३ गतेसम्म सुरक्षा योजना लागू गरेको छ।

पछिल्ला घटनाहरूलाई पनि ध्यानमा राखेर विगतभन्दा सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।

केही साताअघि सर्लाहीको मलंगवा र सुनसरीको धरानमा साम्प्रदायिक तनाव हुँदा स्थिति नियन्त्रणमा राख्न स्थानीय अधिकारीहरूले ठूलो संख्यामा प्रहरी परिचालन गर्नुका साथै केही दिनसम्म निषेधाज्ञासमेत जारी गरेका थिए।

नागरिकको जनधनको सुरक्षादेखि चाडबाडका बेला हुने बाक्लो आवतजावतलाई समेत सहज बनाउने हिसाबले प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता कडायतले बताए।

सीमा नाकामा  निगरानी बढाउँदै त्यसअन्तर्गतका जाँचका क्रममा प्रहरीले प्रशिक्षित कुकुरसमेत प्रयोग गर्ने तयारी गरेको छ।

समुदायमा निगरानीका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

त्यस्तै सीसी क्यामराका साथै ड्रोनबाट समेत प्रहरीले निगरानी गर्ने व्यवस्था गरेको छ।

प्रवक्ता कडायतका अनुसार सहरी क्षेत्रमा सीसी क्यामेराका साथै ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ।

विशेष सुरक्षा योजनाअन्तर्गत सबैगरी ५० हजार ५३० प्रहरी समेटिएका छन्।

देशभरि सवारीसाधन आवागमन हेर्न २७४ अतिरिक्त पोस्ट, ३५७ वटा नागरिक सहायता कक्ष र सीमानाका क्षेत्रमा ५० वटा नागरिक साहयता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।

कस्ता छन् चुनौती?

चाडबाडका समयमा प्रहरीले मुख्यरूपमा दुई तीनवटा चुनौतीलाई प्राथमिकतामा राखेको छ।

दसैंका बेला कृत्रिम अभाव सिर्जना अथवा कालोबजारी, यात्रु ठगिने र सवारी दुर्घटना हुनसक्ने भएकाले प्रहरीले यसको व्यवस्थापनलाई चुनौतीको रूपमा लिएको छ।

त्यस्तै सीमाक्षेत्रमा विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई पनि प्रहरीले चुनौतीको रूपमा औल्याएको छ।

यीबाहेक केही दिनअघि धरान र मलंगवामा भएको क्रियाकलापलाई पनि ‘थ्रेट’ को रूपमा लिँदै त्यसतर्फ पनि सजगता अपनाइएको प्रवक्ता कडायतको भनाइ छ।

 

Tags: