post-slider post-slider

संसदीय समितिका सबै सभापतिहरू निर्विरोध निर्वाचित

Image
A A

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधिसभाक सबै १० वटा समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन्।

समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध भएका हुन्।

सत्ता र प्रतिपक्षबीच भएको भागबन्डाअनुसार नेपाली कांग्रेसले तीन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र राप्रपाले १–१ समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए।

रास्वपाले भने कुनै पक्षसँग तालमेल नगरी उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिको सभापतिका लागि उम्मदेवारी दर्ता गराएको थियो।

यो समितिमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीका अब्दुल खानको उम्मेदवारी परेको थियो। रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान पनि निर्विरोध निर्वाचत भएका हुन्।

सत्तारुढ नेपाली कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह निर्वाचित भएका छन्।

अर्को सत्तारुढ दल माओवादी केन्द्रबाट कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादव, नेकपा(एकीकृत समाजवादी) का भानुभक्त जोशी स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समिति निर्वाचित भएका छन्।

संसद सुरू भएको करिब ८ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो। २०७९ पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ भएको थियो भने १५ वैशाखामा समिति गठन भएका थिए।

सभापतिको निर्वाचन नहुँदा ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्दै आइरहेको थियो।

 

Tags: