post-slider post-slider

एसिसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा, नेपाल भारतसहितको समूहमा

Image
A A

काठमाडौं - एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सञ्चालन गर्ने एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ।

असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल टिम समूह ‘बी’ मा भारत, पाकिस्तान र यूएईसँग परेको जानकारी आएको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले बताएका छन्।

समूह ‘ए’ मा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश र अफगानिस्तान छन्।

इमर्जिङ् टिम्स एसिया कपमा टेष्ट राष्ट्रका यू–२३ वा ए टिमले खेल्नेछन्।

गत वैशाखमा नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेका नेपाल, यूएई र ओमानले एसोसएटको प्रतिनिधित्व गरी इमर्जिङ एसिया कप खेल्न पाएका हुन्।

पाँच टेष्ट टिमले भने आफ्नो ‘ए’ टिम पठाउनेछन्। नेपाल टिम हाल एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा छ। विश्वकप छनोट सकिएपछि सम्भवतः नेपालको टिम घोषणा हुनेछ।

नेपालले सन् २०१६, २०१७ र २०१९ गरी तीनपल्ट इमर्जिङ टिम्स एसिया कप खेलेको छ। सन् २०१९ यता प्रतियोगिता आयोजना भएको छैन।

Tags: