बरहथवा घटना : एसपी भन्छन–खोस्न खोजेको बन्दुक पड्किएको हो वा अरू बुझ्दै छौं
काठमाडौं- सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ।
प्रशासनले घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउनुपर्ने माग राखेर आन्दोलित पक्षले शनिबार बिहानसम्म पनि युवकको शव घटनास्थलबाट उठाउन दिएका छैनन्।
जिल्ला प्रशासनले शुक्रबार साँझ साढे पाँच बजेदेखि जारी गरेको कफ्र्युका बीच स्थानीय शव घेरेर बसेका छन्।
शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै जिल्ला प्रशासनले शनिबार बिहान ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो।
यसैबीच जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८ बजेदेखि कफ्र्यु हटाएर आइतबार बिहान ८ बजेसम्मका लागि त्यहाँ निषेधज्ञा जारी गरेको छ।
अस्पताल स्तरोन्नतिको माग राखेर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
टाउकोमा गोली लागेको साहको घटनास्थलमै मृत्यु भएको हो।
उनी बरहथवा बजारमा होटल सञ्चालन गरिरहेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार साहलाई प्रदर्शन भइरहेको स्थानबाट करिब तीन सय मिटर पर विद्युत प्राधिकरण कार्यालय नजिकको पुलमा गोली लागेको थियो।
साहको शव शुक्रबार रातभर घटनास्थलमा रह्यो।
सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले मृतकको शव पोस्टमार्टमका लागि शुक्रबार बेलुकादेखि प्रादेशिक अस्पताल मलंगवा लैजाने प्रयास गरे पनि स्थानीयले शव उठाउन नदिएको बताए।
‘शव उठाउन दिइएको छैन। समन्वयका लागि हामी राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरूसँग अनौपचारिक कुराकानी गरिरहेका छौं। शव उठाउने सहमति भइसकेको छैन,’ धितालले आयोमेलसँग भने।
धितालका अनुसार गोली चलाउने प्रहरीलाई कारबाहीको दायरमा नल्याएसम्म शव उठान नदिने अडान स्थानीयहरूले लिएका छन्।
स्थानीय प्रशासनले छलफलका लागि राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाउने प्रयास गरे पनि त्यसका लागि उनीहरू तयार देखिएका छैनन्।
‘उहाँहरूसँग कार्यालयमै छलफल होस् भन्ने चाहेका छौं। तर, आउन मान्नुभएको छैन,’ धितालले भने।
किन भयो विवाद?
बरहथवा नगरपालिकास्थत नगर अस्पताललाई प्रदेस अस्पतालमा गाभ्ने कि नगाभ्ने विषयमा विवाद हुँदा तनाव सिर्जना भएको हो।
स्थानीयका साथै विभिन्न राजनीतिक दलहरूले १५ शय्याको नगर अस्पतालको स्तरोन्नतिका लागि ५० शय्याको बनाउन प्रस्ताव गरेका थिए।
यो प्रस्तावमा नगरपालिकाले समेत सहमति जनाएर स्तरोन्नतिका लागि प्रदेस सरकारलाई पत्राचार गरेको थियो।
तर, पछि नगरपालिकाका मेयर कल्पना कटुवाल आफ्नै निर्णयबाट पछि हट्दा विवाद सुरू भएको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहले बताए।
‘५० शय्याको अस्पताल हुँदा सुविधा थपिने भएकाले नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने सहमति सुरूमै भइसकेको हो। यसैअनुसार नगरपालिकालेले प्रदेस सरकारलाई पत्रसमेत पठाइसकेको अवस्था छ,’ सिंहले भने,‘नगर प्रमुखले तत्काल १५ शय्याकै अस्पताल सञ्चालन गर्ने भनेपछि विवाद सिर्जना भएको हो।’
नगर अस्पताललाई प्रदेस अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने विषयमा बरहथवामा विवाद हुँदै आएको थियो।
कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टीसहितको पाँचदलीय गठबन्धनले यसै विषयलाई लिएर आन्दोलन गर्दै आइरहेको थियो।
विवाद समाधानका लागि नगरपालिकाले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो। तर, सूचना जारी गरेर सर्वदलीय बैठक स्थगित गरेपछि पाँचदलसहित त्यहाँका स्थानीय आन्दोलित भए।
सर्वदलीय बैठक बोलाइए पनि पाँच राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति निकालेर बैठकलाई प्रभावित गर्न खोजेपछि स्थगित गर्नुपरेको नगरप्रमुख कटुवालको भनाइ छ।
बैठक बस्न नसकेपछि नगरपालिकाले सूचना जारी गरेर स्थगित गरेको उनले बताइन्।
नगरपालिकाले बैठक स्थगित भएपछि पाँच दल बजार, सार्वजनिक यातायातलगात सम्पूर्ण संघसंस्थाहरू बन्द गर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएको थियो।
कसरी चल्यो गोली?
आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थाले। उनीहरूले नगरप्रमुख कटुवालको घरमा तोडफोड गर्नुका साथै एउटा गाडीमा आगजनी गरे।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरू स्थिति नियन्त्रणमा लिन सक्ने अवस्थामा थिएनन्। उनीहरूले थप सुरक्षाबल माग गरे।
थप सुरक्षाका लागि मोटरसाइकलमा आउँदै गरेका दुई प्रहरीको हतियार खोस्ने प्रयास भएपछि गोली चलेको एसपी धितालको भनाइ छ।
‘एक जना हवल्दारसहित थप सुरक्षाका लागि मोटरसाइकलमा पुगेका सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास गरिएको रिपोर्टिङ हामीलाई आएको छ,’ उनले भने,‘खोस्न खोजिएको हतियार पड्किएको हो। त्यही हतियारको गोली युवकलाई लागेको हो वा अरू कुनै हामी बुझ्ने प्रयासमा छौं। गोली चलाउने आदेश भने दिइएको छैन।’
एसपी धिताल प्रदर्शनकारीले खोस्न खोजेको भनिएको हतियार सुरक्षाकर्मीले नियन्त्रणमा राख्न नसक्दा गोली चलेको हुनसक्ने बताए।
‘खोस्न खोजेको हतियारको गोली पड्किएकै हो। गोली पड्किएपछि हवाइ फायर गर्दै उनीहरू त्यहाँ खटिएको टोलीसम्म पुगे,’ उनले भने,‘युवकलाई त्यही गोली लागेको हो वा अरू कतैबाट चलेको गोली त्यसको छानबिन गर्दैछौं।’
घटनास्थलसम्म पुग्न नपाउँदा अनुसन्धान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
‘घटनास्थलसम्म हामी पुग्न पाएका छैनौं। त्यहाँ पुगेपछि थप जानकारी आउला। तर, हामीले आदेश दिएर भने गोली चलेको छैन,’ धितालले भने।