post-slider post-slider

भङ्ग भइरहेका छन् मौसमसम्बन्धी कैयौं कीर्तिमान

Image
A A

काठमाडौं- वैज्ञानिकहरूले तापक्रम, समुद्री ताप र एन्टाक्र्टिक सागरको बरफमा देखिएका मौसमसम्बन्धी गतिविधिहरूप्रति चिन्ता व्यक्त गरेका छन्।

एक जना वैज्ञानिकले पृथ्वीमा विगत कहिल्यै पनि यस्ता नदेखिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघले युरोमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ।

उत्तरी गोलाद्र्धमा उष्ण लहर चलिरहँदा ग्रिसले ५० वर्ष यताकै सर्वाधिक तातो जुलाई महिनाको अनुभव गरिरहेको छ।

संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ।

मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ।

तर, अध्ययनहरू जारी छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्।

‘मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा छैन,’ लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथ भन्छन्।

इम्पेरियल कलेज लन्डनस्थित जलवायु विज्ञानका प्राध्यापक पाउलो सेपीले पृथ्वीमा ‘विगतमा नदेखिएको अवस्था उत्पन्न हुनुमा’ खनिज इन्धनले निम्त्याएको जलवायु परिवर्तन र सन् २०१८ यता एल निन्यो नामक प्राकृतिक मौसम प्रणालीका कारण वृद्धि भएको तापक्रम जिम्मेवार रहेको बताए।

अहिलेसम्मकै सर्वाधिक गर्मी दिन

सन् २०१६ मा कायम विश्वव्यापी औसत तापक्रमको कीर्तिमान भङ्ग गर्दै यो जुलाईमा हालसम्मकै सर्वाधिक गर्मी दिन महसुस गरियो।

विश्वको औसत तापक्रम पहिलोपटक १७ डिग्री सेल्सियसभन्दा माथि पुग्यो। जुलाई ६ मा औसत तापक्रम १७.०८ सेल्सियस पुगेको युरोपेली संघको मौसम निगरानी सेवा कपर्निकसले जनाएको छ।

तेल, कोइला र ग्यासजस्ता खनिज इन्धनको प्रयोगबाट हुने उत्सर्जनलाई पृथ्वीमा तापक्रम बढ्नुको कारण मान्ने गरिन्छ।

इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक फ्रेडरिक अट्टोका अनुसार हरितगृह ग्यासका कारण तात्दै गएको विश्वमा यस्तो हुने भविष्यवाणी यसअघि नै गरिएको थियो।

औद्योगिक काल सुरू हुनुअघिको जुन महिनाको साधारण तापक्रमभन्दा यसपटकको जुन महिनाको तापक्रम १.४७ सेल्सियस बढी थियो।

सन् १८०० आसपास औद्योगिक क्रान्ति सुरू भएपछि मानिसहरू हरितगृह ग्यासलाई वायुमण्डलमा पठाउन थाले।

एक दशकअघि सन् २०२३ को गर्मीमा यस्तो परिस्थिति आउने भविष्यवाणी गर्न सकिने अवस्था थियो।

लन्डन स्कुल अफ इकोनोमिक्सका स्मिथ,‘मौसमसम्बन्धी अवधारणाहरूले लामो समयको प्रवृत्तिबारे राम्रोसँग भविष्यवाणी गर्न सक्ने भए पनि १० वर्षका पूर्वानुमान गर्न अप्ठेरो हुने’ बताउँछन्।

विश्वभर समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनाको विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान रचेको छ।

त्यो सन् २०१६ को समुद्री सतहको सर्वाधिक तापक्रमको दिशामा उन्मुख भइरहेको छ। तर, वैज्ञानिकहरूलाई मुख्य गरी उत्तर आन्ध्र महासागरमा बढिरहेको तापक्रमले चिन्तित तुल्याएको छ।

युनभर्सिटी अफ ब्रिस्ट्रोलकी पृथ्वी विज्ञानसम्बन्धी प्राध्यापक डेनियला स्मिट भन्छिन्,‘हामीले आन्ध्र महासागरको यो क्षेत्रमा उष्णलहर कहिल्यै पनि देखेका थिएनौं। मैले यस्तो अपेक्षा गरेको थिइनँ।’

जुन महिनामा आयरल्यान्डको पशिचमी तट छेउको तापक्रम ४ देखि ५ डिग्री सेल्सियसको बीचमा थियो। 

त्यसलाई नेसनल ओसियानिक एन्ड एटमसफोरिक एडमिनिस्ट्रेसनले ‘क्याटेगोरी पाँचको हिटवेभ’ अर्थात ‘चरमभन्दा खराब’ मौसमका रूपमा उल्लेख गरेको थियो।

प्राध्यापक स्मिटका अनुसार विश्वमा तापमान वृद्धि भइरहँदा वायुमण्डलको अधिकांश तापलाई समुद्रले सोसिरहेको हुन्छ।

उनले तापक्रम बढ्दा त्यसले विश्वको ५० प्रतिशत अक्सिजन उत्पादन गरिरहेको समुद्री पर्यावरण चक्रमा पनि प्रभाव पर्ने बताइन्।

एन्टाक्र्टिकको समुद्री बरफ कम भएको कीर्तिमान

एन्टाक्र्टिकको समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा हालसम्मकै कम छ।

सन् १९८१ देखि २०१० सम्मको औसतसँग तुलना गर्दा त्यहाँ ब्रिटेनको आकारको १० गुणा बरफ हराएको छ।

जलवायु परिवर्तनसँगको खास सम्बन्ध केलाउने प्रयास गरिरहेका वैज्ञानिकहरू यो देखिएर चिन्तित छन्।

विश्वमा भएको तापक्रम वृद्धिले एन्टाक्र्टिक सीको बरफको तह घटाउनसक्ने भए पनि अहिलेको नाटकीय कमी स्थानीय मौसम वा समुद्री करेन्टहरूले पनि निम्त्याएको हुनसक्ने ब्रिटिस एन्टाक्र्टिक सर्भेकी वैज्ञानिक क्यारोलिन होम्ज बताउँछिन्। (बिबिसीबाट)

 

Tags: