post-slider post-slider

प्रधानाध्यापक भ्रष्टाचारी ठहर, तीन वर्ष कैद सजाय

Image
A A

काठमाडौं- गोरखाको नेपाने माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक शिवकुमार साह भ्रष्टाचारी ठहर भएका छन्।

विद्यालयको भवन मर्मत र ल्याब स्थापनाका निम्ति बजेट लिएर हिनामिना गरेको आरोप लागेको साहलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले साहले विद्यालय भवन, विज्ञान र अरू प्रयोगशाला बनाउने भन्दै भ्रष्टाचार गरेको ठहर गरेको हो।

गत पुस २४ गते साहलाई भ्रष्टाचारी ठहर गरेको विशेषले आइतबार सजाय निर्धारण गरेको छ।

साहको बिगो १३ लाख ३२ हजार २९२ कायम गरी सोबमोजिम जरिवाना र तीन वर्ष कैद सजाय निर्धारण गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

गोरखाको सिरानचोक गाउँपालिका–१ स्थित नेपाने माविका तत्कालीन प्रधानाध्यापक साहले ट्रस भवन निर्माणका निम्ति १६ लाख १० हजार रूपैयाँ लिएका थिए।

उनले विज्ञान, गणित र अंग्रेजी ल्याब बनाउन जिल्ला शिक्षा कार्यालयबाट १ लाख ५० हजार रूपैयाँ प्राप्त गरेका थिए।

त्यस्तै तत्कालीन केराबारी गाविसबाट शैक्षिक सामग्री खरिदका लागि पाएको ७२ हजार २९२ र भवन निर्माण गर्न ल्याएको ५ लाख रूपैयाँ उपभोक्ता समितिलाई दिएर बाँकी सबै रकम हिनामिना गरेको विशेषले ठहर गरेको छ।

हिनामिनाको रकम विद्यालय व्यवस्थापन समितिको झुटा निर्णय र नक्कली बिलभर्पाइमार्फत भुक्तानी लिएको ठहर भएको छ।

भुक्तानीका निम्ति सहयोग गर्ने शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका सबइन्जिनियर विकास झालाई पनि विपक्षी बनाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागनु ५ गते मुद्दा दायर गरेको थियो।

भुक्तानी लिन साहलाई सहयोग गरेको भनिएका प्राविधिक झालाई भने विशेष अदालतले सफाइ दिएको छ।

 

Tags: