.png) 
                
                
                     
                
                सरकारलाई ओलीको प्रश्न – सुन तस्करीका संदिग्धसँग २ सयपटक संवाद गरेकालाई खोइ समातेको?
 
                    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले संसद चलाउन खोजे पनि सत्तापक्षले व्यवधान खडा गरेको बताएका छन्।
सुन तस्करी प्रकरणका विषयमा आइतबार विशेष पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘संसद चल्नुपर्छ, त्यहाँ सुतेर बस्न पाइँदैन। हामी संसद चलाउन चाहेका छौं,’ उनले भने,‘सत्ता पक्षले बोल्न दिएका छैनन्। उठेर जराकजुरूक्क पार्न खोजिरहेको छ।’
आफूहरूले संसद अवरूद्ध नगरेको उनले दाबी गरे।
ओलीले बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति बनाउने माग गरिरहेको बताए।
‘आफ्नो मान्छेलाई जोगाउन एमालेले छानबिन समितिको माग गरिरहेको कहिँ सुनेको छु। हामीले हाम्रो होइन, न्यायिक छानबिन समिति बनाउन माग गरेका हौं,’ ओलीले भने,‘छानबिन समितिबाट सरकार किन डराउनुप¥यो? यो विषयान्तर गर्ने कुरै होइन।’
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरातर्फ लक्षित गर्दै उनले सुन तस्करीका संदिग्ध व्यक्तिसँग दुई सयपटक संवाद भएको देखिएको उनले जिकिर गरे।
‘देखियो त दुई सयपटकसम्म संवाद भएको छ, अनि बाहिर स्टन्ट गरिएको छ,’ ओलीले भने।
नेपाली कांग्रेसका सांसद सुनिल शर्माको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने समयानुकुल नभएको उनको भनाइ छ।
‘सुनिल शर्माको सर्टिफिकेट छानबिन गर्नु हुँदैन भनेर हामीले भनेका होइनौं। यतिबेला छानबिन गर्ने हो र? सुन तस्करीका विषयमा कुरा उठाइरँहदा थुनिदिने,’ ओलीले भने,‘सरकारले विरोधीको मुख थुन्ने काम गरिरहेको छ। यो स्वीकार्य हुँदैन।’
कार्यकर्ताबाट उजुरी गराएर सरकारले सांसद शर्मालाई पक्राउ गराउन लगाएको उल्लेख गरे।
अहिलेको गठबन्धनले संसदीय मर्यादा राख्न नसक्ने जिकिर गर्दै ओलीले सुन तस्करी प्रकरणमा दलीय गठबन्धन हाबी हुने बताए।
३३ किलो सुन प्रकरणमा आफ्नो नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई कानुनी दायरमा ल्याएको ओलीले दाबी गरे।
अध्यक्ष ओलीले नेकपा एमालेलाई सरकारमा जानेतर्फ रूची नरहेको उल्लेख गरे। उनले भने,‘सुन तस्करीको विषयमा उठाएर एमाले सरकारमा त जाने होइन भन्ने पनि सुनिन्छ। एमालेलाई सरकारमा रूची छैन। देश र जनताप्रति हाम्रो रूची हो।’
उनले एमालेलाई यतिबेला सत्तामोह र सत्ता लोलुप्ता नरहेको जिकिर गरे।
 
                                 
                 
                