post-slider post-slider

इजरायलबाट थप एक नेपालीको शव ल्याइयो

Image
A A

काठमाडौं- इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ।

बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव बिहीबार काठमाडौं ल्याइएको हो।

अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको हमास आक्रमणमा मृत्यु भएको थियो।

१० नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिएका छन्।

उनका अनुसार फ्लाई दुबईको विमानमार्फत बिहान ७ बजे नेपालीको शव काठमाडौं ल्याइएको हो।

इजरायलमा मृत्यु भएका १० मध्ये अहिलेसम्म पाँच विद्यार्थीको शव नेपाल ल्याइएको छ। बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डिएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चोधरीको शव नेपाल ल्याइएको छ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए।

हमास समूहको आक्रमणमा परी मृत्यु भएका धनुषा सपही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।

आक्रमणमा परेका कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी सम्पर्कविहीन छन्।

 

Tags: