post-slider post-slider

क्रिकेट विश्वकप : भारत र इंग्ल्यान्ड भिड्दै, जित्नैपर्ने दबाबमा इंग्ल्यान्ड

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

उत्तर प्रदेसको लखनऊस्थित अटलबिहारी बाजपेयी क्रिकेट मैदानमा दिउँसो साढे २ बजे भारत र इंल्ग्यान्डबीच प्रतिस्पर्धा सुरू हुनेछ।

जारी विश्वकपमा भारतले अहिलेसम्म खेलेको सबै पाँच खेल जितेर अंकतालिकामा दोस्रो स्थानमा छ भने पाँचमध्ये एकमात्र खेल जितेको इंग्ल्यान्ड अंकतालिकाको अन्त्यमा रहेको छ।

चार खेल खेल्न बाँकी रहेको भारतले अहिलेसम्म पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तानलाई पराजित गरिसकेको छ।

अब उसले इंग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

अहिलेसम्म हासिल गरेको जित र बाँकी रहेका खेलहरूलाई हेर्दा भारत सेमिफाइनलमा पुग्ने लगभग पक्काजस्तै देखिन्छ।

अर्कोतर्फ डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड यसपालिको फितलो प्रदर्शनका कारण विश्वकपबाट बाहिरिने नजिक पुगेको छ।

आइतबार भारतलाई पराजित गरे पनि इंग्ल्यान्डको जम्मा चार अंक हुनेछ। जुन सेमिफाइनलसम्म पुग्न पर्याप्त होइन।

बंगलादेशविरूद्ध मात्र जित हासिल गर्न सकेको इंग्ल्यान्ड जारी विश्वकपमा श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान र न्युजिल्यान्डसँग पराजय भोग्नुपरेको छ।

अब उसले भारतसहित अस्ट्रेलिया, पाकिस्तान र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। इंग्ल्यान्ड सेमिफाइनसम्म पुग्न बाँकी रहेका सबै खेल जित्नुपर्ने दबाबमा छ।

त्यस्तै लगातार चारवटा खेलमा हार बेहोरेको पाकिस्तान पनि सेमिफाइनलको दौडमा पुग्न बाँकी रहेका सबै खेल जित्नैपर्ने दबाबमा देखिएको छ।

यसअघि शनिबार एक रोमाञ्चक म्याचमा यो विश्वकपको मजबुत टिम ठानिएको न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भयो। अस्ट्रेलियाले प्रस्तुत गरेको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड पाँच रनले पराजित भयो।

यो खेलको निर्णय दोस्रो इनिङको अन्तिम बलमा भयो।

त्यस्तै शनिबार नै नेदरल्यान्ड्ससँग पराजित भएर बंगलादेश विश्वकपबाट बाहिरिएको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२९ रनको समान्य लक्ष्यसमेत पछ्याउन नसकेर बंगलादेश १४२ रनमै अलआउट भयो।

टेस्ट राष्ट्र बंगलादेश जारी विश्वकपमा अहिलेसम्म खेलेका सबै पाँच खेलमा हार बेहोर्नुपरेको छ भने नेदरल्यान्ड्सले दुई खेलमा जित हासिल गरेको छ।

 

Tags: