post-slider post-slider

दशगजामा अलपत्र पुल निर्माणका लागि निधिले लिए अग्रसरता, बाधा फुकाउने भारतीय पक्षको प्रतिबद्धता

Image
A A

जनकपुरधाम-नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले धनुषाको सीमावर्ती क्षेत्रस्थित दशगजामा रोकिएका पुलहरूको निर्माणका लागि कूटनीतिक पहल थालेका छन्।

पुलको निर्माणका लागि काठमाडौंस्थित भारतीय दूतावाससँग समन्वय गरिरहेका निधिले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का सांसदसँग भेट गरेर कूटनीतिक पहल थालेका हुन्।

नेता निधि मंगलबार भारत बिहार राज्यको मुजफ्फरपुर पुगेर भाजपा नेता एवं लोकसभा सांसद निषादलाई भेटेर धनुषाको जटही, मुखियापट्टी मुसहरनिया, लगमालगायतका दशगजा क्षेत्रमा अलपत्र परेका चारवटा पुल निर्माण कार्य अगाडि बढाउन पहल गरिदन आग्रह गरेका हुन्।

पुल निर्माणका सन्दर्भमा प्रतिनिधिसभा सदस्यसमेत रहेका निधि र सांसद निषादबीच संवाद भएको थियो।

संवादका क्रममा निधिले शिलान्यास भएर दशगजा क्षेत्रमा परेका कारण रोकिएका चारवटा पुलहरूको निर्माण कार्य अगाडि बढाउन पहल गरिदिन आग्रह गरे।

दशगजा क्षेत्र रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) अवरोध गर्दा जटही, थलहीघा, अखराहैरघाट र लगमास्थित पुलहरूको निर्माण कार्य अगाडि बढ्न सकेको छैन।

भौतिक पूर्वाधारमन्त्री छँदा निधिले एक दशकअघि यी चारवटै पुलहरूको शिलान्यास गरेका थिए।

धार्मिक र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेका पुलहरूको निर्माणमा एसएसबीबाट भइरहेको अवरोध हटाउन भारतसरकारसँग पहल गरिदिन उनले भाजपा सांसद निषादसँग आग्रह गरे।

‘दशगजा क्षेत्रमै परेका कारण भारतीय एसएसबीले पुल निर्माण गर्न नसकिने बताउँदै आएका छन्। पुल निर्माण भइसकेपछि नेपालका मात्रै नभएर भारतीय नागरिकहरू पनि लाभान्वित हुनेछन्। पुलहरू चाँडै बनोस् भनेर सीमावर्ती क्षेत्रका भारतीय नागरिकहरूले पनि चाहेका छन्,’ निषादसँग भेटका क्रममा निधिले भने,‘यसका लागि म भारतीय दूतावाससँग पनि समन्वय गरिरहेको छु। तपाईंको तर्फबाट विशेष पहलहोस् भन्ने मेरो आग्रह छ।’

६ लेनको जनकपुर–जटही सडक खण्ड तयार भएर पनि सीमामा एक लेनको मात्रै पुल छँदा मालबाहक ट्रकहरूको आवागमन हुन नसकेको भन्दै उनले चौडाइ बढाएर यो पुलको निर्माण गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै धार्मिक महत्व बोकेको थलहीघाटस्थित पुल पनि यथाशीघ्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा मुखियापट्टी मुसहरनियाको जमुनी नदीस्थित थलहीघाट हुँदै भारतबाट नेपाल प्रवेश गर्ने गरेको छ। 

तर, थलहीघाटमा शिलान्यास भएर पनि पुल निर्माण कार्य अलपत्र परेपछि परिक्रमावासीका साथै सीमावर्ती क्षेत्रका स्थानीय आवतजावत गर्न जोखिम मोल्दै आइरहेका छन्।

निधिले भने, ‘यी पुलहरूको निर्माणमा देखिएको बाधा अन्त्य भएपछि धार्मिक र सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने नै छ, व्यापारिक दृष्टिकोणले पनि फाइदा पुग्नेछ।’

दिल्लीस्थित एसएसबीका अधिकारीहरूले पुल निर्माणमा रोक लगाउने गरी कुने निर्देशन नदिइएको अनौपचारिक कुराकानीका क्रममा भारतीय दूतावासका पदाधिकारीहरूले आफूलाई बताएको उनको भनाइ छ।

यद्यपि दशगजा क्षेत्रमा परेकाले पुल निर्माणका लागि दुवै देशबीच समझदारी आवश्यक रहेको निधिले बताए। 

‘चारवटै पुलहरू कुनै न कुनै हिसाबले दशगजा क्षेत्रमा पर्छन्। त्यसैले निर्माणअघि बढाउन दुवै देशबीच समझदारी हुनु जरूरी छ,’ उनले भने,‘यसका लागि सत्तारुढ दलको सांसद भएको नाताले तपाईंको सक्रिय पहलको हामीले अपेक्षा गरेका छौं।’

जवाफमा सांसद निषादले चाँडोभन्दा चाँडो पुल निर्माणका लागि आफूले भारत सरकारसँग कुरा गर्ने प्रतिवद्धता जनाए।

पुल निर्माणका लागि एसएसबीले बाधा पु¥याएकोमा आफूले गृहमन्त्री अमित शाहसँग यसबारे तत्काल कुरा गर्ने उनले सुनाए।

‘एसएसबीसँग जुडेको मामिला हो। एससबी केन्द्र सरकारमातहत आउँछ। अमित शाहजी गृहमन्त्री हुनुहुन्छ,’ निषादले भने, ‘मलाई लाग्दै यो ज्यादै गम्भीर मामिला हो। म उहाँसँग यसबारे कुरा गर्छु। धेरै तनाव लिइरहनुपर्ने कुरा होइन। यसका लागि म पहल गर्छु।’

उनले पुलहरूको निर्माणपछि दुवै मुलुकका नागरिकका लागि अवागमन सहज हुने बताए।

‘पुलको चौडाइ बढाउन होस् वा निर्माण गर्न यसमा समस्या हुन्छ भनेर मलाई लागेको छैन,’ उनले थपे,‘म आफैं अमित शाहजीसँग भेट्ने छु। पुल बनेपछि नेपाल र भारत दुवै देशका नागरिक लाभान्वित हुनेछन्।’

दुवै मुलुकबीच रोटीबेटीको सम्बन्ध रहेको बताउँदै निषादले नेपालको तर्फबाट भारतलाई कहिले कुनै कठिनाइ नभएको उल्लेख गरे।

‘नेपाल र भारतबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ। नेपालको तर्फबाट भारतलाई कहिल्यै कुनै समस्या भएन। हाम्रो प्रधानमन्त्रीले पनि कैयौंपटक नेपाल भ्रमण गरिसक्नुभएको छ,’ उनले भने,‘मलाई लाग्दैन तपाईंहरूको समस्या समाधान गर्न कुनै समस्या हुन्छ। जनताको समस्या लिएर तपाईं मलाई भेट्न आउनुभएको छ यो ठूलो कुरा हो।’

भाजपा सांसद निषादसँग भेट्न नेता निधिको नेतृत्वमा नगराईन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य अनामिका उपासक निधि, क्षेत्रीय सभापति धिरेन्द्रकुमार  निधि, तरुण दलका केन्द्रीय सदस्य मानवेन्द्र निधिलगायतका व्यक्तिहरू सहभागी प्रतिनिधिमण्डल मुजफ्फरपुर पुगेको थियो।

करिब १० वर्षअघि भएको थियो शिलान्यास

पूर्वउपसभापति निधि भौतिक पूर्वाधार तथा यातायातमन्त्री छँदा सीमावर्ती क्षेत्रका यी चारवटै पुलको शिलान्यास गरेका थिए।

व्यापारिक तथा धार्मिक एवं सांस्कृतिक महत्वका यी पुलहरुको शिलान्यस भएर निर्माण कार्य अगाडि बढिरहेको बेला भारतीय एसएसबीले एक्कासी निर्माणमा अवरोध खडा गरेका थिए।

दशगजा क्षेत्रमा परेकाले निर्माण कार्य अगाडि बढाउन नमिल्ने उनीहरूको भनाइ थियो। र, अहिले पनि उनीहरू त्यही अडान लिएका छन्।

सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुण लाल कर्ण लिखित रूपमा कुनै पत्र नदिए पनि एसएसबीले पुल निर्माणका लागि अनुमति नदिएको बताए।

कर्णका अनुसार सिक्सलेनअन्तर्गत पर्ने सीमावर्ती क्षेत्र जटहीस्थित पुल निर्माणका लागि २०७४ सालमा ९ करोड ६० लाखमा ठेक्का सम्झौता भएको थियो।

पुल निर्माणका लागि ठेक्का पाएको रमण–कमल जेभीले ६० प्रतिशत भुक्तानी लिइसकेको छ। 

पुल निर्माणका लागि तयार भएका संरचनावापत यो भुक्तानी दिइएको सडक डिभिजन कार्यालयको भनाइ छ।

प्रमुख कर्णका अनुसार यो पुलको ६५ प्रतिशत भौतिक प्रगति भएको छ।

एसएसबीले बाधा गरेपछि बाँकी काम पूरा हुन नसकेको उनले बताए।

त्यस्तै थलहीघाटको पुल निर्माणमा ५० प्रतिशत भौतिक प्रगति भएको छ। २०७१ सालमै शिलान्यस भएर ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य पनि एसएसबीकै अवरोधका कारण अगाडि बढ्न सकेको छैन।

४ करोड ७२ लाखमा ठेक्का सम्झौता भएको यो पुलको ४५ प्रतिशत भुक्तानी निर्माण कम्पनीले लिइसकेको छ।

थलीघाट पुल निर्माणका लागि बज्रगुरु÷म्याग्लुङ जेभीले ठेक्का पाएको थियो।

यो पनि हेर्नुस् :

सीमा विवादमा अड्किएको नेपाल–भारत सम्बन्ध ‘सेतु’ : जमुनीघाट पुल

Tags: