post-slider post-slider

एनसेलको सेयर किनबेचका विषयमा सरकारलाई जानकारी छैन : अर्थमन्त्री

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी नभएको बताएका छन्।

मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री महतले एनसेलको सेयर किनबेचका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।

‘सूचना लिने काम भइरहेको छ। यसको नियमन गर्ने निकाय नेपाल टेलिकम हो। यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,’ उनले भने,‘एनसेलको सेयर खरिद बिक्रीका विषयमा आधिकारिक रूपमा सरकारलाई जानकारी छैन।’

आधिकारिक रूपमा सरकारलाई जानकारी नभएको भन्दै महतले यसले पार्ने प्रभावबारे टेलिकमका पदाधिकारीसँग बुझ्ने काम भइरहेको बताए।

मन्त्री महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरे।

‘विदेशी पर्यटकको संख्या र रेमिट्यान्स बढेको छ। समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ। अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ। अब बिस्तारै अर्थतन्त्रमा सुधार आउँछ,’ उनले भने।

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको भन्दै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए।

 

Tags: