post-slider post-slider

निजेरमा राष्ट्रपतिलाई बन्धक बनाएर ‘कू’

Image
A A

काठमाडौं- निजेरमा राष्ट्रपतिलाई अपदस्थ गरिदिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गरेका छन्।

उनीहरूले त्यहाँ ढुंगामुढा गर्नुका साथै भवन तथा सवारीसधानहरूमा आगजनीसमेत गरेका छन्।

विद्रोही नेताहरूको समर्थनमा संसदबाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद भवनबाहिर रूसको झन्डा प्रदर्शन गरिएको थियो।

बुधबार राष्ट्रपति मोहम्मद बाजुमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बताएको थियो।

रूसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसंघले जस्तै बाजुमको रिहाइको माग गरेको छ।

दुई वर्षअघि निजेरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजुम पश्चिम अफिैकामा इस्लामिक लडाकुहरूविरूद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।

निजेरमा युरेनियम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको ‘कू’ लाई निन्दा गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजुमालाई वाशिङटनले ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघले निजेरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ। 

राष्ट्रसंघले यसअघि निजेरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक रहेको बताउँदै आएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रपति बाजुमलाई ‘तत्काल र विनाशर्त’ रिहा गर्नुपर्ने माघ अघि सारेका छन्।

राष्ट्रपतिलाई सत्ताच्युत गर्ने सैन्य पक्षले आफ्नो नेता घोषणा नगरेकाले अहिले निजेर कसको नेतृत्वमा छ भन्ने स्पष्ट छैन।

 

Tags: