post-slider post-slider

अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

Image
A A

काठमाडौं- अमेरिकाको स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डिइए) लाई गाँजासम्बन्धी संघीय नियमहरू खुकुलो पार्न सिफारिस गरेको छ।

अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा गाँजाको प्रयोगलाई वैधानिक बनाउने कानुन पारित गरे पनि संघीयस्तरमा यो अवैध छ।

अहिले गाँजा पनि हिरोइन र एलएसडीकै वर्गमा पर्ने लागूपदार्थको रूपमा सुचीकृत छ।

यदि डिइएले उसको वर्गीकरण परिवर्तन ग¥यो भने त्यो लागूपदार्थबारे दशकौंमा भएको अमेरिकी नीतिको सबैभन्दा महत्वपूर्ण परिवर्तन हुनेछ।

गाँजालाई हाल ‘कन्ट्रोल्ड सब्सट्यान्स एक्ट’ अन्तर्गत अनुसूची–१ को लागूऔषधका रूपमा वर्गीकरण गरिएको छ।

त्यसको अर्थ ‘गाँजाको कुनै चिकित्सकीय प्रयोग छैन र दुरूपयोगको उच्च सम्भावना छ’ भन्ने हो।

त्यसलाई अनुसूची–३ मा परिवर्तन गर्दा यसलाई दुरूपयोगको सम्भावना कम भएका औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ।

केटामाइन, एनाबोलिक स्टेरोइडहरू र प्रति मात्रा ९० मिलीग्राम कोइन भएका औषधिहरू यो वर्गमा पर्छन्।

गत वर्ष राष्ट्रपति जो बाइडेनले आफ्ना महान्यायाधिवक्ता र स्वास्थ्यमन्त्रीलाई गाँजालाई कम गम्भीरखाले लागूऔषका रूपमा सूचीकरण गर्न उपयुक्त हुन्छ कि हुँदैन भनेर समीक्षा गर्न भनेका थिए।

स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (एचएचएस) ले डिइएमा आफ्नो प्रस्ताव पेस गरेको हो।

‘यो प्रक्रियाको एउटा भागको रूपमा डिइएलाई विचार गर्न सहज होस् भनेर एचएचएले एउटा वैज्ञानिक र चिकित्सकीय मूल्याङ्कन गरेको छ,’ उक्त निकायले वक्तव्यमा भनेको छ, ‘कन्ट्रोल्ड सब्स्ट्यान्स एक्टअनुसार कुनै पनि लागूऔषध वा औषधिको सूची बनाउने वा पुनः सूचीकृत गर्ने अन्तिम अधिकार डिइएसँग छ। डिइएलेले अब यसको समीक्षा सुरू गर्नेछ।’

एचएचएसले आफ्नो विज्ञप्तिमा गाँजासम्बन्धी संघीय नियम खुकुलो पार्ने सिफारिससम्बन्धी ‘प्रशासनिक प्रक्रिया’ पूरा गर्न ११ महिनाभन्दा कम समय लागेको जनाएको छ।

त्यसले डिइएलाई सहयोग पुग्ने र त्यसको नेतृत्वलाई एउटा व्यापक वैज्ञानिक मूल्याङ्कन पूरा गर्न सहज र छिटो हुने उसको भनाइ छ।

‘कन्ट्रोल्ड सब्स्ट्यान्स एक्ट’ को सूचीबाट गाँजालाई पूर्णरूपमा हटाउन भने सिफारिस गरिएको छैन।

केही अभियानकर्मीहरूले प्रशासनलाई गाँजालाई यो सूचीबाट हटाउन दबाब दिएका छन्।

त्यसो गरियो भने गाँजालाई उक्त कानुनको सूचीबाट हटाउनुपर्नेछ र त्यसलाई मदिरा र सुर्ती वा चुरोट जस्तै नियमन गर्नुपर्नेछ।

तर, गाँजालाई पुनः अनुसूचित गर्दा त्यसले अनुसन्धानका लागि थप बाटो खोल्न सक्छ र गाँजा उद्योगमा पनि स्वतन्त्र रूपमा बैंकिङ सुविधाको अनुमति दिनसक्छ।

हाल अमेरिकामा अधिकांश गाँजा व्यवसाय नगदमा सञ्चालन हुन्छन्। किनभने कर कानुनहरूले बैंकहरूलाई निश्चितखाले पदार्थ बिक्रीबाट उत्पन्न पैसाको कारोबार गर्न प्रतिबन्ध लगाएको छ।

जनमत सर्वेक्षणहरूले अधिकांश अमेरिकीहरूले गाँजालाई कुनै न कुनै रूपमा कानुनी बनाउनुपर्ने कुरालाई समर्थन गर्छन् भन्ने देखाएका छन्।

सबै पश्चिमी तटीय राज्यहरू र वाशिङ्टन डिसीसहित २३ वटा राज्यहरूमा वयस्कहरूका निम्ति मनोरञ्जन प्रयोगका लागि कानुन बनाइएको छ।

त्यस्तै ३८ वटा राज्यहरूमा चिकित्सा प्रयोगका लागि अनुमति दिइएको छ।

 

Tags: