post-slider post-slider

सुनिल शर्माले सरकारलाई ‘ऐना’ देखाइदिएका हुन्!

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बिहीबार पक्राउ गर्‍यो।

३० वर्षअघि उतीर्ण गरेकोे आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबीसहित सिआइबीले शर्मालाई पक्राउ गरेको थियो।

पक्राउ परेको २४ घन्टा नबित्दै उनी शुक्रबार साधारण तारेखमा रिहा भए।

सांसद शर्माको हकमा काठमाडौं जिल्ला अदालतले शुक्रबार साँझ ‘हिरासतमुक्त गरेर तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न’ आदेश दियो। 

जिल्ला अदालतको यो आदेशसँगै शर्मा हिरासतमुक्त भए।

यसअघि २०७२ देखि २०७३ सालबीचको करिब ६ महिनामा झन्डै ६० जना डाक्टरहरूलाई नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो।

त्यो बेला पक्राउ परेका ६० जनामध्ये एक जना शर्मा पनि थिए। नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरिएको अभियोगमा यसअघि दुईपटक पक्राउ परिसकेका छन्। 

उनका अनुसार दुवैपटक उनले सफाइ पाइसकेका छन्। यहाँसम्म कि यो अभियोगमा अदालतले समेत सफाइ दिइसकेको उनको दाबी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी प्रकरणमा शर्मा निरन्तर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई निशाना बनाइरहेका थिए।

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता भएको दाबी गर्दै उनले संसदबाटै राजीनामा माग गरेका थिए।

यो प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने शर्मा सत्तारुढ दलका एक्ला सांसद थिए। 

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा मागेकाले आफूसँग जे पनि हुनसक्ने ‘पूर्वानुमान’ शर्माले पहिले व्यक्त गरिसकेका थिए।

सुन तस्करी प्रकरणमा आवाज उठाइरहेकै बेला शर्मा पक्राउ परेपछि कांग्रेसका कतिपय नेताले यो संयोगमात्र हो कि प्रतिशोध भनेर सरकारलाई प्रश्न गरे।

सांसद शर्मा पनि सुन तस्करीबारे प्रश्न उठाएकै कारण प्रतिशोध साँध्न सरकारले आफूलाई पक्राउ गर्न लगाएको बताउँछन्।

उनले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्।

‘प्रधानमन्त्रीको निर्देशनमा मलाई पक्राउ गरियो। तर, त्यो निर्देशन २४ घण्टा पनि टिक्नसकेन। अदालतले मलाई रिहा गर्न आदेश दियो। त्यतिसारो बैगुनी हुनुहुँदैन,’ उनले भने।

आफूसहित कृष्ण सिटौला, डा.शेखर कोइराला, कृष्णसेन इच्छुकलगायतका मानिसहरू नभएको भए प्रचण्ड अहिले पनि जंगलमै हुने उनले बताए।

‘हामीले लगाएको गुनको पैंचो उहाँले हत्कडी लगाएर दिनुभएको छ। उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु। यो पावरको उन्माद हो,’ शर्माले भने।

जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका शर्मा सुन तस्करी प्रकरणमा थप आक्रमक भएर प्रस्तुत भइरहेका छन्। 

सुन तस्करका संरक्षकहरू गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै अनशनको घोषणा गरेपछि त्यसलाई बिगार्नका निम्ति आफूलाई पक्राउ गरिएको शर्माले बताए।

‘यो ३० वर्ष पुरानो फाइल तेस्रोपटक खोलेर मलाई गिरफ्तार गर्नु आफैंमा गैरकानुनी हो,’ उनी भन्छन्,‘अब त यस्तो ‘आतंककारी’ गृहमन्त्री एक मिनेट एक सेकेन्ड पनि सत्तामा बस्न मिल्दैन। प्रचण्डजीले उहाँलाई तुरून्त हटाउनुपर्छ। यो गृहमन्त्रीको टिकाउनतिर लाग्नुभयो भने उहाँको सरकार ढल्छ।’

६ वर्षअघि अदालतमा मुद्दा चलाइएका अधिकांश डाक्टरहरूमध्ये धेरै धरौटीमा त केही साधारण तारेखमा रिहा भएका थिए। पछि अधिकांशले सफाइ नै पाए।

‘नक्कली डाक्टर’ प्रकरणले चर्चित भए पनि त्यो बेला ठगी गरेको कसुरमा मुद्दा चलाइएको थियो।

जानकारहरूका अनुसार उस बेला कतिपयले भारतबाट पास गरेको भनी पेस गरेको आइएस्सीको प्रमाणपत्र नक्कली भएको त कतिपयले कम नम्बर पाएकोमा त्यसलाई बढी देखाउनेगरी सच्चाएको भेटिएको थियो।

पक्राउ परेका कतिपयका मुद्दामा राजनीतिक चासो पनि निकै देखिएको थियो। सरकारी वकिलको कार्यालयमा त्यसबारे चासो राखेर नेताहरूले फोनसमेत गरेका थिए।

पूर्वआइजिपी एवं एमाले नेता नवराज सिलवाल नेता, कर्मचारीका आफन्तहरू मुछिन थालेपछि त्यो बेला अनुसन्धानलाई रोक्न लगाइएको बताउँछन्।

‘सिआइबीले २०७३ मा सैयौं नक्कली प्रमाणपत्रधारी शंकास्पद डाक्टरहरूमाथि अनुसन्धान गर्न फाइल खोलेको थियो। नेता, कर्मचारी र वडे व्यापारीका साला साली, भान्जी, ज्वाइँ, छोरी, बुहारी, भतिज आदिको नाम आएपछि पूरै अनुसन्धान रोक्न तत्कालीन शक्तिकेन्द्रहरू सक्रिय भए,’ सिलवाल भन्छन्,‘अभ्यासमा नरहेको र जनस्वास्थ्यमा खतरा नभएको ठम्याइपछि डा.सुनिल शर्मालगायत केही माथिको अनुसन्धान अगाडि बढेन।’

नेपाल मेडिकल काउन्सिलको परीक्षामा बारम्बार धेरै डाक्टर अनुतीर्ण हुन थालेपछि नक्कली प्रमाणपत्रको आशंका सतहमा आएको थियो।

त्यसपछि काउन्सिल र सिआइबीले अनुसन्धान गरेका हुन्। उनीहरूले त्यो बेलाको उच्च माध्यमिक शिक्षा परिषदको सहयोगमा अनुसन्धान गरेका थिए।

कतिपयले नक्कली प्रमाणपत्र वा कीर्ते मुद्दा नचलाएर ठगी मुद्दा चलाउनुमा सरकारी वकिल कार्यालयमा चलखेल भएको पनि बताउने गर्छन्।

यसपटक भने कीर्ते कसुरमा मुद्दा चलाउन अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सिआइबीका अनुसार सम्बन्धित व्यक्तिहरूले उतीर्ण गरको भनेको परीक्षा बोर्डम विवरण फेला नपरेको कुरा राष्ट्रिय परीक्षा बोर्डले लिखित रूपमा पठाएको छ।

कांग्रेस सांसद शर्मा भने यसपटक पनि आफू सही साबित हुने ठोकुवा गर्छन्।

‘मैले इन्टमेडिएट तीनवटा विषयमा गरेको छु। त्रिविको इन्स्टिच्युट अफ मेडिसनबाट ल्याब टेक्निसियन गरेको छु। मेरो एमबिबिएसको डिग्रीमा कसैले प्रश्न उठाउनसकेको छैन, मेडिकल काउन्सिलको लाइसेन्स टेस्ट दिएर पास गरेको हुँ। प्राइभेटबाट पनि त्रिविको अर्को डिग्री लिएको छु। आइएस्सी इन्डियाबाट पास गरेर आएको सर्टिफिकेट हो, मेरो सर्टिफिकेट नक्कली छैन। अदालतमा प्रुव गरेर देखाउँछु,’ शर्मा भन्छन्।

 

Tags: