post-slider post-slider

हराएका हेलम्बु बिम्बहरू

Image
A A

काठमाडौं जुगल, थाङ्गालछ्यो, दार्जेलाक्पा अनि आमायाङ्ग्रीजस्ता दर्जनौं हिमालको उज्यालोमा बोटमै टल्किन्थे कुनैबेला हेलम्बुका स्याउ।

‘स्याउको सहर’ भनेर चिनिने हेलम्बुमा अब स्याउ छैन। अब एकाध गीतको ‘बिम्ब’हरूमा मात्रै बज्छन् हेलम्बुका स्याउहरू।

यो लगभग ४० वर्षअघिको ‘कथा’ हो।

र, दावा डोल्माहरूको बचपनका यादहरू हुन्, हिउँको घामले टल्किने स्याउ र त्यसमै लत्रिने बोटहरू। अब डोल्मा ६० को उकालो लाग्दैछिन् र कहिलेकाहिँ त ती यादहरूले बेस्सरी सताउँछन् उनलाई।

स्याउजस्तै पोटिलो वैशालु जीवन उनले त्यही स्याउको बगैचामा बिताइन्, बालापनमा तिनै बोटहरूमा लुकामारी खेलिन्। जवानीमा तिनलाई स्याहारिन्, खुब प्रेम वर्षाइन्।

आज प्रेमिल यादमात्रै बाँकी छ उनिसँग, त्यो ‘स्याउ’ छैन। 

बगैचामा हुर्किदैं गरेका ३० बोट काश्मिरी स्याउका बोटहरूसँगै उनको बालापन पनि छिप्पिदैं थियो। किशोरावस्थाले छोप्दै गर्दा बगैचाका ती स्याउहरू उनका लुकामारी खेल्ने साथी बने।

बुवाले ती स्याउका बिरूवा काश्मिरबाट किनेर ल्याएका थिए।

ति सप्रिदै गए। फेरि स्याउका अरू २० बोट थपिए।

स्याउका बोटहरू वैशालु हुँदै थिए। दावा १६ लागिन्।

गाउँभरिका बारीमा स्याउका बोटहरू बाक्लिन थाले । सेर्माथानमा नेपाल सरकारले खोलेको ‘बागवानी फर्म’ मा उसैगरी विकसित भइरहेको थियो । दावा त्यही फर्ममा काम गर्न थालिन्।

बिहान बेलुका आफ्नै बगैचाका स्याउका बोटहरू स्याहार्थिन्। फल्दै गरेका स्याउहरूलाई सम्हाल्थिन्। अनि दिउँसोपख फार्ममा काम गर्थिन्।

फार्ममा केही गाईवस्तुहरू थिए। स्याउका बगैचा थिए। स्याउका विरूवालाई चाहिने मलखादका लागि ती गाईहरू पालिएका थिए। फार्ममा उनले ती गाईहरू पनि स्याहार्थिन्। स्याउका बिरूवा रोप्न भुइँ खोस्रिन्थिन्। यसैगरी दिन बित्थ्यो।

कहिले महिनामा १५–२० रूपैयासम्म कमाउँथिन्, कहिलेकाहिँ १५० सम्म। यो त्यो बेलाको ठूलै कमाई थियो। घर खर्च मात्रै उनले त्यसबाट आफ्ना रहर पनि पूरा गर्थिन्।

‘त्यसबेला थोरै पैसाबाट धेरै सामान आउँथ्यो। रासनका लागि आवश्यक चामल, आलु र तरकारी त किन्नै पर्दैनथ्यो। सबै उनका खेतबारीमै फल्थे’ सम्झना छ उनलाई ‘नुन, तेल अनि चिनी चियापत्ती लिन काठमाडौं झर्नुपर्थ्यो।’

२५० रुपैयाँमा त काठमाडौं आउनेजाने खर्च र एक डोकोभरि सामान आउँथ्यो।

आफ्नै खेतमा सप्रिएका बोटमा स्याउका झुत्ता स्याहारी नसक्नुहुन्थ्यो। हाँगा निहुरिएर भुँइ छुन खोज्थे। टेको लगाउनुपर्थ्यो।

गाउँभरि स्याउ यसैगरी लहराईरहेका थिए। तर वरीपरीका बाहेक सहरतिर थाहा थिएन। सुरूको वर्ष त्यो स्याउ बिकेन। उनीहरूले त्यसलाई काटेर चाना बनाएर। सुकाए अनि सुकटी बनाएर खाए। स्याउको रक्सी पनि बनाए।

स्याउ फलाएरमात्रै भएन। त्यसका लागि बजार चाहिन्थ्यो। गाउँका केही अगुवाहरूले सल्लाह गरे। काठमाडौंको भृकुटी मण्डपमा माइकिङ गरे।

रेडियो नेपालबाट ‘हेलम्बुको स्याउ मिठो मानी खाउँ’ भन्ने छोटो विज्ञापन बज्न थालेपछि बजारबाट पनि त्यसको माग हुन थाल्यो।

अनि त्यही स्याउ हेलम्बुको बिम्ब बन्यो। गीतका टुक्का बने।

समय हो, चलिरहन्छ। स्याउसँग दावाहरूको नाता गहिरिँदै थियो।

केही वर्षपछि स्याउका बोटहरू बिरामी हुन थाले। ती सुकिला स्याउका बोट एक्कासी मुर्झाएकाजस्ता देखिए। फलेका स्याउहरू पनि हँसिला थिएनन्। ती निन्याउरा देखिन्थे। बागवानी केन्द्रले औषधी त दियो तर त्यसको पनि केही जोर चलेन।

चिचिला लाग्थे। आशा पलाउँथ्यो। जब ती स्याउ वैशालु हुन थाल्थे फेरि उही। रूपरंगै फेरिन थाल्यो। बोटमै स्याउका दानाहरू कुरूप हुन थाले। फुट्न र झर्न थाले।

२०४५ सालको जेठमा ठूलो हुरी बतास चल्यो।

असार साउनको त्यो ठूलो झरीको सम्झनाले अहिले पनि दावाहरूको मन निथ्रुक्क हुन्छ। हुरी बतास र त्यो वर्षाले दावाहरूको ‘स्याउ सपना’ भताभुङ्ग पारिदियो।

दुई वर्षपछि त फलेका स्याउजति सबै झर्न थाले। गाउँमा स्याउ फल्न छोडेपछि बागवानी केन्द्र पनि उठ्यो। गाउँलेको जागिर पनि छुट्यो। बारीभरिका स्याउका बोट खंग्रिङ्ग भए। हिँउदमा नाङ्गिएका जस्तै ती स्याउका बोटहरू त्यसपछि कहिल्यै पलाएनन्, दावाहरूको सपनाजस्तै।

दावाजस्तै सेर्माथानकी ओमो खान्डुले फुलाएका स्याउका सपना पनि त्यतिबेलैको बतासले उडाएर कता पु¥यायो कता!

त्यो बतासले ७८ वर्षकी ओमाको सपना जस्तै स्याउका फुलहरू अब कहिल्यै नफल्नेगरी उडाइलगेछ।

‘स्याउ फलेनन्। फले पनि सबै बोटमै फुट्न थाले। बचेका झर्न थाले’ ओमो अनि दावाहरू भन्छन् ‘त्यसपछि त सिजनमै पनि स्याउ निख्रिएजस्तै बोट भए। त्यसपछि ती बोटहरू फाँडेर हामीले आलु रोप्न थाल्यौ।’

५० भन्दा धेरै स्याउका बोटहरूले झुम्म पुरिएका उनका खेतबारीहरूमा आलु, मुला करु लगाउन थाले।  

महिलालाई रोजगार दिने बागवानी ‘फर्म’ जंगल बन्यो। 

सेर्माथानमा रहेको बागबानी फारमको क्षतीग्रस्त भवन 

२०१९ सालमा नेपाल सरकारको कृषी विभागले हेलम्बुको करिब ३१ हेक्टर क्षेत्रफलमा बागवानी केन्द्र खोलेको थियो। त्यही केन्द्रमा करिब ८ वर्ष प्राविधिक सहायक भएर काम गरेका चन्द्र रानाभाटका अनुसार त्यो बेला निकै पोटिला र पोसिला स्याउ फल्थे।

धेरै गाउँलेले स्याउ खेती गर्थे।

‘सुरुमा उत्पादन राम्रै थियो। स्याउ सुकिला अनि रसिला नै थिए। विस्तार स्याउका रंग फेरिन थाले’ उनि सम्झिन्छन्।

केही वर्षपछि जेठ देखि कात्तिकसम्म दैनिकजसो पानी पर्न थाल्यो। हुस्सु लागिरह्यो।

त्यसपछि स्याउका दाना बिग्रिन थाले। बोटहरू सुक्न थाले।

त्यसपछि त्यो बागवानी केन्द्रका बगैचा पनि लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएर त्यो केन्द्र सदाका लागि बन्द भयो।

बागवानी केन्द्रका भवनहरू अहिले जंगलमा पुरिएका छन्। रूखहरूले बाक्लिएको त्यो जंगलमा कता कता भवनका भग्नावशेषहरू भेटिन्छन्।

स्याउका बोट सुके। गाउँलेको रोजीरोटी सुक्यो। बाँच्नका लागि खेतबारीमा सुक्न थालेका ती स्याउका रूखहरू फाँडेर उनीहरूले आलु रोप्न थाले।

बागवानी केन्द्र बन्द भयो, धेरै महिलाको रोजगारी छिनियो। स्याउका बोट पनि रहेनन्, बागवानी केन्द्र पनि रहेन। महिलाहरू फेरि उही चुलोचौकोभित्र बन्द हुन थाले।

स्याउ मासिएर उनीहरुको खेतमा उम्रिएका आलु ओमो अनि दावाहरूका लागि घर धान्ने मेसो बन्यो।

केहि समय पहिलासम्म बेसीका मान्छे दाल, चामल अनि नुन तेल लगेर आलु साट्न उक्लिन्थे। ओमो अनि दावाहरूले पनि चामलसँग खुब आलु साटेका छन्।

अहिले आलु चामल, पीठोसँग साट्न पर्दैन। मोटर हुँइकिने सडक घर आँगनमै पुगेका छन्, सिधै बजार पुगिहाल्छ।

वर्षाको अनियमित चक्र

४० वर्षअघि स्याउका बोटले पुरिएका हेलम्बु घर–बारीहरू अचेल परैबाट ह्वाङ्गै देखिन्छन्। कतै–कतै स्याउका भग्नावेषहरू भेटिन्छन्, गाउँलेका सपना र सम्झनाजस्तै ‘ठुटा’ परेका।

हेलम्बुको सेर्माथान, छिमी, नाकोते, तार्केघ्याङजस्ता स्याउका गाउँहरू अब उराठलाग्दा देखिन्छन्, हिमालका निरस छायाजस्तै।

कहिले बेमौसमै भारी वर्षाले थिचिन्छन्, यी गाउँहरू। मनसुनमा अनायासै ओइरिने वर्षाले कहिकाहिँ अत्यासै पार्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बितेको ३० वर्षमा यहाँको वर्षा करिब १००० मिलिलिटरका दरले घट्ने र बढ्ने भइरहन्छ।

दुई दशकको वर्षाको अनियमित क्रम यस्तो छ ः 

 

 स्रोत: जल तथा मौसम विभाग           

१९९१ देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने असार, साउन र भदौमा अत्याधिक बर्षा भइरहेको छ।

झरी, हिउँ र स्याउको सम्बन्ध

स्याउ खेती विशेषज्ञ चुतराज गुरूङका अनुसार स्याउका लागि माटोजस्तै हावा पानीको पनि साथ चाहिन्छ। त्यो भनेको स्याउका लागि सुहाउने वातावरण हो। सुख्खा, चिसो, पानी कम पर्ने, आद्रता कम भएको स्थानमा पोसिलो स्याउ फल्छ। 

स्याउ खेती गर्ने ठाउँमा सकेसम्म आकाशे पानी पर्दै नपरे हुन्छ। वा वर्षको एकपटक हुने कम वर्षाले त खासै असर गर्दैन।

उनको अनुमानमा हेलम्बु क्षेत्रमा अत्याधिक बर्षा भएका कारण स्याउका बोटमा जरा कुहिने रोग लागेको हुनसक्छ। पानीमा भएको अक्सिजन स्याउको जराले सोस्न सक्दैन। जसका कारण स्याउको जरामा अक्सिजन पुग्दैन र मसिना जरा सुक्न थाल्छन्।

त्यसपछि त  स्याउका मसिना हाँगाहरू सुन्निएकाजस्तै ठूला हुन्छन् र अन्तिममा बोट नै मर्छ।

स्याउ फल्ने र हुर्कने बढ्ने समय भनेको असार, साउन र भदौतिर हो।

आकाशमा बादल हुनुहुँदैन। जति घाम लाग्यो उत्ति राम्रो हुन्छ।

तर हेलम्बुको आकाशमा सधै घाम लागेन। मनसुनमा यसरी पानी ओइरिन थाल्यो कि थेग्नै नसकिने हुन थाल्यो। स्याउका आकाश बादलका काला थुम्काहरूले छेकिन थाले।

सामान्यतया जुन, जुलाई, अगस्टमा २५० मिलिलिटर बर्षातलाई सामान्य मानिन्छ तर सेर्माथान क्षेत्रतिर जुनमा ५२१ जुलाईमा ९५७, अगस्टमा ९६४ मिलिलिटर वर्षा भइरहेको छ।

सामान्यतया १ हजार २ देखि १ हजार ३ सय मिलिलिटरसम्मको वर्षालाई स्याउका बोटले लगभग थेग्नसक्छन्। तर सेर्माथान र स्याउ फल्ने हेलम्बुका अरू भेगमा पनि त्यसको तीन गुणाभन्दा बढी वर्षा हुन थालेको छ।

त्यस्तै स्याउका लागि तापक्रमले पनि उत्तिकै भूमिका खेल्छ। स्याउ फल्न न्युनतम तापक्रम मंसिर पुस माघमा ४ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रम निरन्तर १६ घण्टा भए स्याउ फुल्छ। स्याउको पूर्ण विकासका लागि चाहिने अधिकतम तापक्रम भनेको २०–२१ डिग्री सेन्टिग्रेट हो।

‘अहिले अति नै धेरै पानी परेको रहेछ। ४ हजार मिलिलिटर पानी पर्नु भनेको अत्याधिक धेरै हो,’ उनले भने, ‘स्याउ फल्ने स्थानमा असार–भदौ सम्म ५० प्रतिशत आद्रता हुनुपर्छ तर यहाँ त यस्तो पानी पर्दा ८०–९० प्रतिशत हुन्छ।’

९० प्रतिशत आद्रता भएपछि स्याउको बाहिरको बोक्रामा लेउ र ढुसी पलाउने, स्याउ गुलियो नहुने र रंग पनि राम्रो नआउने उनले बताए।

४० बर्ष अघि गुरुङ कीर्तिपुरको बागवानी केन्द्रमा काम गर्थे। त्यो बेलाको सम्झना आज पनि ती स्याउजस्तै ताजा छन् उनिसँग।

हेलम्बु वडा नं -२ सेमार्थानमा एक स्थानीयको खेतमा लगाइएको स्याउको सुकेको रुख 

‘हेलम्बुको स्याउ एकदमै स्वादिलो थियो। काठमाडौंमा पनि उत्तिकै चर्चित थियो,’ उनले भने।

आशाको किरण बन्दै किवि

स्याउ उत्पादनमा ह्रास आएको लामो समयसम्म आलु, मुला र करु खेतीमा सिमित भएका स्थानीयले नयाँ आशा भेटाएका छन् ।

अहिले डोल्माका खेतमा आलु मुला र करुसँगै किवि फुल्न र फल्न थालेका छन् । परिक्षणका लागी सुरुमा चार बोट बिरुवा मात्र लगाइन् ।

आठ बर्ष अघि उक्त बिरुवा एक संस्थाले अनुदान (आधा शुल्क) मा उपलब्ध गराएको थियो ।

त्यस्तै गाउँपालीकाले पनि बर्षेनी अनुदानमा किवि, ओखर, नास्पाती, अनार, हलुवावेद, अंगुर लगायतका फलफुलका बिरुवा वितरण गर्दै आइरहेको छ।

परिक्षणका लागी लगाएको किवि आफ्ना साना सन्तानलाई झै स्यााहर गरेर हुर्केाए पछि (तीन बर्षमा) अहिले फुल्न र फल्न थालेको छ। समयमा सिँचाई र मल जल गरि थाक्रो लगाएपछि राम्रो उत्पादन भएको छ ।

किविको बजार मुल्य पनि राम्रौ छ । आफन्तलाई कोसेलिसँगै आम्दानीको नयाँ बाटो खुलेसँगै दावा खुशि छिन् ।

खेतमा किवि झुलेपछि उनले पुन किविका बिरुवा थपेकी छिन् ।

उनी मात्र नभई सेर्माथानका प्राय सबै किसानहरु किवि खेतीमा आकर्षित भएका छन् । प्राय सबै घरमा किवि लगाएका छन् ।

त्यस्तै, सेर्माथानमा आमा समुह मार्फत होम स्टे समेत सञ्चालनमा छ । सेर्माथानमा करिब एक सय घरधुरीमध्ये आमा समुहमा संलग्न २२ घरलाई होम स्टे सञ्चालनमा छ । होम स्टे सञ्चालनका लागी आमा समुहले जस्ता पाता, भाडाकुँडा र होम स्टे प्लेटको व्यवस्था गरिएको छ ।

(यो आलेख युकेएआइडीको सहयोग प्राप्त ब्रिटिस काउन्सिलको ‘रोड टु कप’ अभियान अन्तगर्त जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारिएको हो।)

पुन प्रकाशित 

Tags: