post-slider post-slider

महन्थसँग महतोको बिलौना : काम गर्ने अरु पनि छन्, मौका दिनुस्

Image
A A

काठमाडौं- मंसिरमा सम्पन्न आम निर्वाचनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो पार्टी राजनीतिको केन्द्रमा थिए।

अध्यक्ष महन्थ ठाकुरलाई पनि महतोलाई ‘बाइपास’ गरेर  पार्टीका आन्तरिक निर्णय गर्न त्यति सहज थिएन।

ठाकुरले गर्ने प्रायः हरेक निर्णयमा महतोको सहमति र संंलग्नता जरुरी हुन्थयो।

त्यसको कारण थियो– २०७४ सालको निर्वाचनमा उनी धनुषाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यो पनि नेपाली कांग्रेसको किल्लाबाट।

महतोलाई त्यही दम्भ थियो। र, पार्टीभित्र हालिमुहाली पनि।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महतो फेरि धनुषाबाट चुनाव लडेनन्। आफ्नै गृहजिल्ला सर्लाहीलाइ रोजे। धनुषाबाट चुनाव नलड्नुपछाडिका कारण थियो– अघिल्लो चुनावमा उनले ‘अदृष्य’ सहयोग पाएका एमालेकी जुली महतो आफैं चुनावी मैदानमा थिइन्।

तर, गृहजिल्लाबाट चुनाव लडेर पनि संसदसम्मको यात्रा तय गर्ने उनको चाहना पूरा भएन। कुनैबेला राजनीतिक सहयात्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रयादवले संसदसम्म पुग्ने महतोको चाहनालाई ‘ब्रेक’ लगाइदिए।

महतो पराजित भए। र, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका महिन्द्र यतिबेला नेपाल सरकारको मन्त्री छन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका महतो पार्टीको आन्तरिक राजनीतिमा पनि यतिबेला संघर्ष गरिरहनु परेको छ।

खासगरेर पुरानै अस्तित्वमा फर्किन।

अनि उनी खनिएका छन्, पार्टी अध्यक्ष ठाकुरविरुद्ध।

पार्टी गठन भएको झन्डै दुई वर्षपछि लोसपाले केही समयअघि पदाधिकारीसहित ३११ सदस्यीय कार्यसमिति सार्वजनिक ग¥यो। कार्यसमिति सार्वजनिक भएको एक साताभित्रै लोसपाले बुद्धनगरस्थित एक ब्यान्क्वेटमा पदाधिकारीको बैठक पनि बोलायो।

असोज १६ र १७ गते दुई दिनसम्म चलेको बैठकमा वरिष्ठ नेता महतोे अध्यक्ष ठाकुरको खुलेर आलोचना गरे।

लामो समयदेखि असन्तुष्ट रहेका उनले अध्यक्ष ठाकुरको यति खुलेर आलोचना गर्न सकेका थिएनन्। तर, यसपालि सहकार्यपछि महतो अध्यक्ष ठाकुरको तिखो आलोचनामा उत्रिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

अध्यक्ष ठाकुरले कार्यसमितिलाई विस्तार गरेर जम्बो बनाएका छन्। जम्बो कार्यसमितिमा उनले सम्धि, सम्धिनी, छोरीलगायतलाई समावेश गरेका छन्।

अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीकी सहयोगी र छोरीले पनि कार्यसमितिमा स्थान पाएका छन्।

हुनत ठाकुरले कार्यसमितिमा आफ्नालाई स्थान दिइरहँदा महतोलाई पनि ‘किनारा’ लगाएका छैनन्।

ठाकुरले वरिष्ठ उपाध्यक्ष महतोका ज्वाइँ र भतिजलाई कार्यसमितिको पदाधिकारीमा स्थान दिएका छन्।

तर, ज्वाइँ र भतिजलाई स्थान दिइए पनि महतो सन्तुष्ट छैनन्। र, उनको यो असन्तुष्टि केही दिनअघि नै सार्वजनिक भइसकेको थियो।

उनले अध्यक्ष ठाकुरतर्फ संंकेत गदै आफू ‘बेइज्जत’ हुने डरले आफ्नो ज्वाइँ र भतिजलाई कार्यसमितिको पदाधिकारीमा स्थान दिइएको धारणा व्यक्त गरेका थिए।

हुनत कार्यसमितिको विस्तारप्रति महतोका ज्वाइँ अनिल महासेठले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त पद अस्वीकार गर्ने घोषणा गरेका थिए।

पार्टी बैठकमा वरिष्ठ नेता महतोले मागेर उपाध्यक्ष र महासचिव पाउने भए अध्यक्ष किन नदिएको भन्दै अध्यक्ष ठाकुरलाई प्रश्न गरे।

२१ जनाको पदाधिकारी र ५१ जनाको कार्यकारिणी समिति बनाउने म्यान्डेट पाउँदा पनि ६३ जना पदाधिकारी किन बनाउनुप¥यो ठाकुरलाई उनको प्रश्न थियो।

‘पार्टी बैठकबाट तपाईले २१ जनाको पदाधिकारी र ५१ जनाको कार्यकारिणी समिति बनाउने म्यान्डेट पाउनु भएको हो। ६३ जनाको पदाधिकारी बनाउने के बाध्यता आइलाग्यो तपाईंलाई,’ अध्यक्ष ठाकुरसँग महतोको प्रश्न थियो, ‘उपाध्यक्ष दुई चारवटा बढी बनाउँदा केही फरक पर्दैन। तर, महासचिवमात्र १६ जना बनाउनु भएको छ। यो कार्यकारी पद हो। यति धेरै महासचिव बनाउन के बाध्यता थियो? महासचिवको संख्या देखाएर गिनिज बुकमा नाम लेखाउनु हुन्छ?’

पार्टीको पद व्यवस्थापनमा अध्यक्षको कमजोरी देखिएको भन्दै उनले माग्नेलाई अध्यक्ष पद किन नदिएको प्रश्नसमेत गरे।

‘नेताहरु पद माग्न आउँछन् नै। व्यवस्थापन कसरी गर्ने अध्यक्षको काम हो। यसमा अध्यक्षको कमजोरी देखियो,’ महतो भनाइ उद्धृत गर्दै बैठक सहभागी ती नेताले भने, ‘माग्न त अध्यक्ष पनि मागिएको थियो। त्यो किन दिनुभएन। माग्दैमा प्रसादजस्तै पदाधिकारी बाँड्ने हो भने अध्यक्ष पनि दिनुपथ्र्यो।’

नेताहरुका अनुसार पछिल्लो समय अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोबीचको सम्बन्ध चिसिएको छ। महतो आफैं पार्टीको नेतृत्वमा आउन चाहिरहेका छन्। 

तर, उनको यो चाहना अध्यक्ष ठाकुरले नचाहँदासम्म पूरा हुने सम्भावना नभएको नेताहरुको भनाइ छ।

पदाधिकारी बैठकमा महतोले अप्रत्यक्ष ढंगबाट आफू नेतृत्वका लागि इच्छुक रहेको चाहना पोखेका थिए।

‘तपाईंको स्वास्थ्य र उमेरले पनि धेरै कुरा गर्न दिइरहेको छैन, धेरै कुरा बिर्सन थाल्नुभएको छ,’ महतोले अध्यक्ष ठाकुरलाई भनेका थिए, ‘तपाईं सक्न हुन्न भने अरुलाई काम गर्न दिनुस्। यहाँ थुप्रै साथीहरु काम गर्न तयार हुनुहुन्छ। तपाईं आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने। अनि पार्टी कसरी अगाडि बढ्छ?’

नेता महतोले खुलेर नभने पनि आफूले कार्यकारी भूमिका पाउनुपर्नेतर्फ संकेत गरेका थिए। उनले अध्यक्ष ठाकुरसँग यसअघि पटकपटक कार्यकारी अध्यक्ष बनाउन आग्रह गरिसकेका छन्।

कार्यकारी अध्यक्ष नभए पनि कार्यबाहक अध्यक्ष बन्ने उनको रहर छ। तर, ठाकुरले उनलाई ‘भाउ’ दिएका छैनन्।

 

 

 

 

Tags: