post-slider post-slider

आधुनिक चिकित्सा क्षेत्रमा उदाएको वीरको १३४ औं वर्ष

Image
A A

काठमाडौं । नेपालमा आधुनिक चिकित्सा क्षेत्रमा उदाएको जेठो संस्था ‘वीर अस्पताल’ १३४ वर्ष पुगेको छ। वि.सं १९४६ साउन १२ गते १५ शय्यासहित स्थापना भएको वीर अस्पताल अहिले नयाँ सर्जिकल भवनसहित ९६० शय्यामा विस्तार भएको छ।  

वि.स १९४६ श्रावण १२ गते रानीपोखरी को पश्चिम तर्फ हाल राष्ट्रिय नाच घर भएको ठाउँमा एउटा टहरो बनाइ तत्कालीन राजा पृथ्वी वीर बिक्रम शाहले वीर अस्पतालको जग राखेका थिए। उनले आफ्नो नाम जोडिर ‘पृथ्वी वीर अस्पताल’ नामाकरण समेत गरेका थिए।

उनकी महारानी तोप कुमारीको उपचार गर्न आएका डाक्टरहरु बाट उनले अस्पताल सञ्चालनको ब्यबस्था गरेका थिए। उक्त स्थान साँघुरो भएको कारण उनले सुन्धारा देखि भोटाहिटी सम्म जग्गा भएका मानन्धर थरका एक जना व्यक्तिसँग ४८ रोपनी जग्गा मागेर सोही ठाउँमा वीर शम्शेरले अस्पतालको भवन बनाउन लगाए। वीर अस्पताल भवनको डिजाइनर थिए जोग वीर स्थापित। 

त्यसपश्चात अस्पतालको नामाकरणमा राखिएको पृथ्वी शब्द हटाइ वीर अस्पताल मात्र राखियो। हालसम्म यस संस्था ‘वीर अस्पताल’कै नामले परिचित छ । सुरुमा बेलायती दूतावासमा रहेका डाक्टरले ओपिडी चलाउँथे भने बङाली डाक्टरहरुले सेवा दिएका थिए। अस्पतालमा आइ सि यु कक्षको स्थापना राजा महेन्द्रले गरे।  

उनले उपचारका लागी आउने सर्वसाधारण जनताका लागि निशुल्क सेवा दिने थिति बसाले । भर्ना भएर बसेका बिरामीका लागि निशुल्क मासुभात खुवाउने मेसो मिलाए। त्यहि सोचलाई अनुसरण गर्दे हालसम्म वीर अस्पतालमा बिरामीलाई निशुल्क खाना दिइने व्यवस्था छ। 

वीर शम्शेर जवाराले अस्पताल उद्घाटन कार्यक्रममा लिखित मन्तव्य दिएका थिए। वीर शम्सेरले दिएको लिखित मन्तव्य यस्तो छ। 

श्री ३ महाराज वीर शम्शेर जङ्गबाट काठमाडौ रानीपोखरी नेराको हस्पीतल खोली बक्संदा निजामती अफिसर पल्टन सामेल भयाको थियो। श्री कम्यांडर इन चिफ जनरल देव। शम्शेर जङ्ग राणा बहादुरबाट। इसपिच। बोली बक्सेको। हामि। भै भारदार, फौज दुनियांहरुले हामि भाग्यमानि रह्या छौ भनी समझनु। किन भन्या श्री परमेक्षवर।का अनुग्रहले। सव माथि दया र विवेकले पूर्ण भै बक्सेका मालिक श्री ३ महाराज वीर शम्शेर जङ्ग राना बहादुर थोङ लिन् निम्माको काङ्वाङ् स्यान्। प्राइममिनीष्टर याराड कम्यांडर इन चिफ होई वक्स्याको छ आफ्ना रैति दुनिञांहरुले औषधि वेगर दुख पायाको विचार नराख्याको हुनाले अघि अधिका मुख्यात्याहरुले। हस्पीतल न राख्याका हुन।

औल्हे श्री ३ महाराजका उदये भया पछी आफ्ना रैती दुनिञांहरुले औषधि न पाई साह्रै दुख पाउँदा रहेछं भन्या। जाहेर हुंदा यो हस्पीतल राखि बक्सेको हो। याहाका रैतिहरु लाई मात्र निगाह भयाको होईन की तराईमा पनि औषधि न पाई धेरै मानिसको नोक्सान भयाको जाहेर भयाको हुनाले तराईमा पनी पी। वी। नाउँ राखि हस्पीतल खडा गरी वक्सी आफ्ना रैती दुनीञांको एक पैसा खर्च नभै अषधि गर्न पाउन्या हुनाले सबै खर्च हजुर बाट लगाई बक्स्याको छ।

यत्रो खर्च गरी वक्स्या। क्या हो भने सवै माथि ठुलो करुणा राखि वक्स्याको हो। यो मुलुकको तर्किप हुन्यामा र आफ्ना भै भारदार फौज दुनित्रांले सुविस्ता पाउन भंना निमित। यो यौटा काम होईन की अरु पनि कति काम उठाई वक्सिन्या छ। एस्तो विवेकदार मालिक पाउनु हामि सबैको ठूलो भाग्य यही हो। सर्कार बाट सबैको उपकार गरी बक्सेमा श्री परमेक्षरवरबाट पनि हजुको प्रताप बढाउंन्या छ भन्या हामिहरुलाई निश्चय छ।

डाक्टर अदस्नाथले बोलेको इसपिच नेपालमा रैति दुर्नीयाहरु बेरामी हुदा औषधि न पाई बेहीफाजत हुनाले नोक्सान स्मेत भयाको सर्कारमा जाहेर हुदा हजुरबाट आफ्ना दुनिञांका उपर निगाह राखि बक्सी छोटा वडा सबैको रक्षा हवस भंना निमित यो हस्पीतल खडा गरी बक्सेको हो।

यो हस्पीतल बेरामीहरुलाई बस्न सुविस्ता हुन्या हीसाब संग राम्रो गरी बनेको छ। एस्मा चाहीन्या औषधि हात हतियार सबै मौजुद रहयाको छ। बहुत सिपालु जान्या डाक्टर असिष्टेन्ट डाक्टर कम्पाउन्डरहरु पनि देशबाट झिकाई राखि बक्स्याको छ।

बेरामीका हीफाजतलाई जो चाहीन्या भांछे नोकर चाकरहरुको पनी बन्दावस्दा गरी खाना पिन्या सराजाम सुत्न्या पलङ्ग विछर्यौना गैहू दुरुस्त छ। केही कुरामा कमति छैन। उक्त बेरामी १५ लाई हिफाजत साथ रोज रोज खाना पिनालाई चाहीन्या सराजाम स्मेत तयार छ। अरु बेरमीहरु पनी मुर्करर भयाका टायम संममा जति आउछन् तिनीहरुलाई बेथा हेरी बेथा अनुसारको औषधि दिन्या अंजाम भयको छ। बेरामीहरुको हीफाजत पुगोस भंना निमित डाक्टर बस्न्या घर पनि हस्पीतलका नगिच बनाई डाक्टर हर्दम राखि दियाको छ।

यो सबै कुरा तयार भयाको हुनाले सर्कारमा जाहेर गऱ्याको छ जो हुकुम भनि यति भै सके पछि हस्पीतल खोली वक्स्यो ताहा पछि सामेल भै रहेका फोज जंगि नीजामति गहलाई छुट्टी भै आफ्ना आफ्ना घर फियो।

१३४औं वसन्तमा वीर अस्पतालले धेरै उतारचढाव देखेर पनि निरन्तर सेवा दिईरहेको छ। वीर शम्शेरले बनाएको वीर अस्पतालको भवन १९९० को भुकम्पमा क्षतिग्रस्त भयो। पछि भारतीय सहयोगमा ओपिडी भवन अनि युएसआइडी को सहयोगमा सर्जिकल भवनको निर्माण गरियो।  

वि स २०१६ सालमा पहिलो नेपाली सुपरिटेन्डेन्ट डाक्टर जित सिंह मल्ल थिए। त्यस भन्दा अगाडि ५ जना बिदेशी सुपरिटेन्डेन्ट डाक्टरले सेवा दिइरहेका थिए। त्यसपश्चात आधुनिक चिकित्साको विकास अघि बढ्यो। वीर अस्पतालमा खडा भएका विभागहरु अलग्गिएर अहिले स्वायत्त अस्पताल बनेका छन्। 

२०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० गठन भयो। वीर अस्पताल न्याम्स मातहतमा रह्यो। र, त्यसपछि वीरले बिरामीको उपचार नभई बिरामी जाँच्ने डाक्टर अनि सेवा गर्ने नर्सहरू पनि जन्माइरहेको छ। 

२०७२ को भुकम्प पछि जाइकाको सहयोगमा यस अस्पतालमा अर्को अत्याधुनिक भवन निर्माण गरिएसँगै वीरको सेवा पनि विस्तार भएको छ । 

हाल अस्पतालले ३२ प्रकाशका विशेषज्ञ सेवा दिइरहेको छ। ३ सय ३६ जना विशेषज्ञ डाक्टरहरू र करिब ५ सयभन्दा धेरै नर्सहरूले सेवा दिइरहेका छन्। उनीहरुले अत्याधुनिक प्रविधि सहित बिरामीलाई सेवा दिइरहेको छ। 

श्रावण १ देखि बिहान ८ बजे बाट ओपिडी सेवा शुरु भएको छ। अनलाइन टिकटको व्यवस्था गरेको छ। तर, अझै पनि अस्पतालमा सुधार गर्नुपर्ने पक्षहरु धेरै छन्। बिरामीको चाप अस्पतालाई थेग्न मुश्किल छ । जटिल उपचारका लागी अझै पनि पालो कुर्नुपर्ने व्यवस्थाको अन्त्य भएको छैन । 

Tags: