post-slider post-slider

प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव : ‘राहत वितरण प्रभावकारी बनाइयोस्, पुनर्निर्माणले तीब्रता पाओस्’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी र पुनर्निर्माणको कामलाई तीब्र बनाउन सुझाव दिएको छ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई यस्तो सुझाव दिएका हुन्।

भेटका क्रममा भूकम्प प्रभावित क्षेत्रसँग सम्बद्ध ९ बुँदे सुझाव प्रधानमन्त्रीलाई आफूहरूले बुझाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

‘जसरी उद्धार कार्यलाई तीब्र बनाउनु भयो त्यसरी नै राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउनसहित ९ बुँदे सुझावपत्र बुझाएका छौं,’ विश्वकर्माले आयोमेलसँग भने,‘प्रधानमन्त्री हामीले बुझाएको सुझावप्रति सकारकात्मक देखिनुभयो।’

२०७२ सालको अनुभव आफूहरूसँग रहेको बताउँदै पुनर्निर्माण कार्यलाई दीर्घकालीन रूपमा सुरक्षित हुने गरी अगाडि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका उनले बताए।

भूकम्प प्रभावितहरूका लागि राहत पुगे पनि सबैले प्राप्त गर्न नसकेको गुनासाहरू आइरहेको प्रति कांग्रेसले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

‘राहत पुगेका छन्। तर, पीडितहरूले पाउन नसकेको गुनासो आइरहेको छ,’ प्रचण्डसँग भएको कुराकानीबारे उनले भने,‘सबै पीडितले सामान ढंगबाट राहत पाओस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं।’

भेटका क्रममा भूकम्पपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि भन्दै कांग्रेसले घोषणा गरेको ५० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भूकम्प प्रभावितहरूका लागि पार्टीले घोषणा गरेको ५० लाख रूपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवाको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा, गोविन्द पोखरेल, मुख्य सचिव कृष्ण पौडेललगायतका नेताहरू बालुवाटार पुगेका थिए।

 

Tags: