.png)

भेरीगंगाका तत्कालीन प्रशासकीय अधिकृत पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- भेरीगंगा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेलसहितका व्यक्तिविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नदीजन्य पदार्थको ठेक्का लगाउँदा अनियमितता गरेको आरोपमा अनुसन्धान थालेको अख्तियारले पौडेलविरूद्ध ३६ लाख ७८ हजार ५४३ रुपैयाँ बिगो माग गरेको छ।
ठेक्का सम्झौता गर्दा अधिकतम् कबोल मूल्य घटाउने, सार्वजनिक खरिद नियमावलीको व्यवस्था बोमजिम बोलपत्रदाताले समयमा सम्झौता गर्न नमाने पनि धरौटी रकम जफत नगर्ने, कालोसूचीमा नराख्ने लगायत कार्य गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
यस्तै, मुद्दा दायर गरिएकामा तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा रहेका छन्। यस्तै, उक्त नगरपालिकाका तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सब-इन्जिनियर मोतीलाल प्रसाद, योजना अधृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनार छन्।
यस्तै, न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढाक्षेत्री, नवराज कन्स्ट्रक्सनका नवराज ढकाल एन्जल कन्स्ट्रक्सनका भीमबहादुर बुढा छन्।
बुढालाई भने २१ लाख १ हजार ६९६ रुपैयाँ बिगो माग गरिएको छ।
नगरपालिकाले २०७६/७७ सालमा नदीजन्य पदार्थ ढुंगा, बालुवाको ठेक्का लगाएको थियो। उक्त ठेक्कामा कानुन मिचेर अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।