post-slider post-slider

भूकम्पको क्षतिबारे कार्ययोजना बनाउन प्रधानमन्त्रीले बोलाए बैठक

Image
A A

काठमाडौं- राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएका हुन्।

प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन्। 

मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ। भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ। टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो। बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ। प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ। ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ।

Tags: