post-slider post-slider

नेकपा एसको सचिवालय बैठक बस्दै, के छ कार्यसूची

Image
A A

काठमाडौं- नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक आज  बस्दै छ। पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले बताए।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए।

यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ।

सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ। आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा देखिएको भन्दै तुरून्तै संशोधन गर्न भनेको थियो।

एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरूद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरूद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ।

जसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालकै नेतृत्वमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य र जिल्लाका पदाधिकारी रहेको २००१ सदस्यीय कमिटीसमेत बनाएको छ। पार्टीका उपमहासचिव विजयकुमार पौडेलको नेतृत्वमा ५२ सदस्यीय मूल व्यवस्थापन कमिटी बनाएको छ।

जसले वैदेशीक रोजगारीका क्षेत्रमा भइरहेको ठगी मिटरब्याजी, बचत तथा ऋण सहकारी र लघुवित्तहरूले गरिरहेको ठगी र शोषण।, महँगी, कालाबजारी, खाद्यवस्तुमा हुने मिसावट, विकास निर्माणसम्बन्धी काममा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन कामविरूद्ध खबरदारी गर्ने, सचेतना ल्याउने काम गर्ने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए। जागरण यात्राका क्रममा ठाउँठाउँमा कोणसभा, छलफल, भेटघाट, अन्तरक्रियालगायतका गतिविधि हुने उनले बताए।

Tags: