post-slider post-slider

पहिरोले बेनीघाट-आरूघाट सडकखण्ड अवरुद्ध, ओहोरदोहोर ठप्प

Image
A A

काठमाडौं- केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनीघाट-आरूघाट सडकखण्ड अवरुद्ध भएको छ।

गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

पहिरोले बेनीघाट आरूघाट सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको उनले बताए। सडक माथिबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए। पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारीसाधन आउजाउ ठप्प भएका छन्। 

सडक अवरुद्ध भएपछि आरूघाट, घाटबेँसी, बेनीघाट हुँदै काठमाडौं ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरूपमा रोकिएको उनले बताए।

अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। ‘ठूलाठूला ढुंगा पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ’, उनले भने, ‘लगातार वर्षा भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ।’

पहिरोका कारण  फुजेल, बेनीघाट हुँदै काठमाडौं, चितवनलगायतका शहरमा छुट्ने सवारीसाधान पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्।

Tags: