३३ वर्ष सरकारी जागिर, ४ करोड बढीको ‘अकुत’ सम्पत्ति
काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशिभुषणकुमार यादवउपरत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
निजामति सेवामा छँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मंगलबार यादवविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सरकारी जागिरमा छँदा यादवले ‘अकुत’ सम्पत्ति आर्जन गरेको अख्तियारले दाबी गरेको छ।
यादवविरूद्ध अख्तियारले ४ करोड ४७ लाख ३४ हजार २१२ रूपैयाँ मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पूर्ववरिष्ठ निरीक्षक यादव २०४६ जेठ ८ मा सार्वजनिक सेवामा प्रवेश गरी २०७९ असार मसान्तसम्म कार्यरत थिए।
यसअवघिमा समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ उनी र उनका एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, विमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण,ऋण /सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व / कर तिरेको र बैंक मौज्दातसमेत गरी ७ करोड २४ लाख ५६ हजार २६० रूपैयाँ देखिएको छ।
जाँच अवधिमा यादव र उनको एकासंगोलका पारिवारको आयआर्जनतर्फ निजको पारिश्रमिक / तलबबाट जीवन निर्वाह खर्च कटाइ बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, बुहारीको पारिश्रमिक, कर्मचारी सञ्चयकोषबाट फिर्ता रकम, छोराको तलब बचतलगायत गरी जम्मा २ करोड ७७ लाख २२ हजार ५० हजार वैध आय देखिएको अख्तियारले जनाएको छ।
उनको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा ४ करोड ४७ लाख ३४ हजार २१२ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसक्दा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति, स्रोत खुलेको घर, जग्गाहरू, बैंक मौज्दातसमेतका सम्पत्ति जफत गरी असुल उपर गर्न अख्तियारले मागदाबी लिएको छ।
त्यस्तै सार्वजनिक सेवाको पदमा रहँदा उनले स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रितारानी, छोराद्वय विकास र अविनासको नाममा खरिद गरेका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्तिसमेत जफत गर्न अख्तियारको मागदाबी छ।