post-slider post-slider

विश्वकप छनोट : घरेलु मैदानमा बराबरीमा रोकियो ब्राजिल

Image
A A

काठमाडौं- अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ।

ब्राजिल घरेलु मैदानमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो। ब्राजिलका लागि डिफेन्डर गाब्रिएलले गोल गर्दा भेनेजुएलाका इडवार्ड बेलोले बराबरी गोल फर्काए।

एरिना पान्टानाल माटो ग्रोसो ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले खेलको सुरुवातदेखि नै भेनेजुएलालाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो।

५०औं मिनेटमा गाब्रिएलले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए। उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए। तर, ब्राजिल अन्तिम पाँच मिनेट सम्हालिन सकेन।

८५औं मिनेटमा परिवर्तित खेलाडी इडवार्ड बेलोले गोल गर्दै ब्राजिललाई जितबाट वञ्चित गराए। ८०औं मिनेटमा स्यामुइल सोसाको स्थानमा मैदान छिरेका उनले मैदान पसेको पाँच मिनेटमै जेफर्सन साभारिनोको पासमा गोल गर्न सफल भएका थिए।

भेनेजुएलासँग बराबरीमा रोकिएसँगै विश्वकप छनोटमा ब्राजिलको घरेलु मैदानमा जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि ब्राजिलले घरेलु मैदानमा भएको विश्वकप छनोटमा १४ खेलमा जित निकालेको थियो।

यस बराबरीले ब्राजिलले शीर्षस्थानको अर्जेन्टिनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ। अपराजित रहेको ब्राजिलको ३ खेलबाट ७ अंक छ। समान खेलबाटै शीर्षस्थानको अर्जेन्टिनाको ९ अंक छ। ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएला ३ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा छ।

Tags: