post-slider post-slider

सिरियास्थित इरानी समूहको हतियार भण्डारमा अमेरिकाको हवाइ आक्रमण

Image
A A

काठमाडौं- अमेरिकाले पूर्वी सिरियास्थित दुई हतियार भण्डारण केन्द्रमा हवाइ आक्रमण गरेको छ।

ती केन्द्रहरूलाई इरानको रेभलुसनरी गाड्र्सले प्रयोग गर्ने गरेको बताइएको छ।

अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले इरानी समर्थनको मिलिशिआ समूहले इराक र सिरियास्थित अमेरिकी सैन्य केन्द्रहरूमा हाले गरेको आक्रमणको जबाफमा यो आक्रमण गरिएको बताएका छन्।

वक्तव्य जारी गरेर उनले अमेरिकी हवाइ आक्रमण ‘इजरायल र हमासबीच जारी द्वन्द्वभन्दा फरक’ रहेको प्रष्ट पारेका छन्।

इरानले यस विषयमा प्रतिक्रिया जनाएको छैन।

इराकसँग सीमा जोडिएको अबु कमाल सहरनजिकै भण्डारण केन्द्रमा आक्रमण भएको हो।

‘यो आत्मरक्षाका लागि गरिएको हमलाहरू इरानी समर्थन भएको मिलिशिआ समूहहरूद्वारा इराक र सिरियामा रहेका अमेरिकी सैनिकहरूमाथि अक्टोबर १७ देखि जारी तर प्रायःजसो असफल आक्रमणका जबाफ हुन्,’ अस्टिनले वक्तव्यमा भनेका छन्।

अमेरिका र उसको पक्षमा रहेका फौजहरूमाथि इजरायल र हमासबीच द्वन्द्व सुरू भएदेखि इराकमा कम्तीमा १२ चोटि र सिरियामा चारचोटि आक्रमण भएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार २१ जना अमेरिकी सैनिकहरूलाई सामान्य चोटपटक लागेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार यो क्षेत्रमा सञ्चालित इरानी प्रोक्सी समूहहरूले आक्रमण गरेका हुन्।

इरानले गाजामाथि नियन्त्रण गर्ने हमास र लेबनानमा सञ्चालित हिज्बुल्लाह दुवैलाई हातहतियार र पैसासमेत सहयोग गर्दै आएको छ।

‘अमेरिकी सैन्य बलहरूविरूद्धका यी आक्रमणहरू अस्वीकार्य छन् र तिनीहरू रोकिनुपर्छ,’ अस्टिनले भनेका छन्,‘अमेरिकी सैन्य बलहरूका विरूद्ध इरानका प्रोक्सीहरूद्वारा भएको आक्रमण जारी रहने हो भने हामी आफ्ना जनताको सुरक्षाका लागि आवश्यक थप उपायहरू अपनाउन हिच्किचाउँदैनौं।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयोतोल्ला अली खामेनीलाई एक सन्देश पठाउँदै मध्यपूर्वमा रहेका अमेरिकी सैनिकहरूलाई निशाना नबनाउन चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले खामेनीलाई सम्पर्क गरेको यो दुलर्भ घटना हो।

 

 

Tags: