post-slider post-slider

विश्वकप छनोट क्रिकेट : विश्व च्याम्पियन वेस्टइन्डिजसँग भिड्दै नेपाल

Image
A A

काठमाडौं- विश्वकप छनोट क्रिकेटमा बिहीबार नेपाली टोली टेस्ट मान्यताप्राप्त वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ।

जिम्बावेको हरारेस्थित मैदानमा दिउँसो १२ः४५ बजे नेपाल र वेस्टइन्डिजविरूद्ध प्रतिस्पर्धा हुन लागेको हो।

नेपालले एकदिवसीय मान्यताप्राप्त गरेयता टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो खेल हो।

यसअघि टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बावेविरूद्धको पहिलो खेलमा नेपाल हार बेहोर्नुपरेको थियो।

वेस्टइन्डिज टेस्ट मान्यताप्राप्त टिममात्रै नभएर दुईपटक एकदिवसीय विश्वकपको उपाधिसमेत हासिल पारिसकेको छ। 

पहिलोपटक वेस्टइन्डिजविरूद्ध मैदानमा उत्रिन थालेको नेपाली टोलीलाई क्रिकेट जीवनमा उपलब्धिमूलक अनुभव हासिल हुने अपेक्षा गरिएको छ। 

विश्वकप छनोट प्रतियोगितमा नेपाली टोली पहिलोपटक वेस्टइन्डिजको सामना गरिरहे पनि विपक्षी टिमबारे जानकारी नराखेको भने होइन।

सन् २०२३ को सुरूआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले आफ्नो प्रदर्शन सुधारेको मात्रै छैन केही खेललाई छोडिदिने हो भने अधिकांशमा जित हासिल गरेको छ।

देसाइ नेपाल आउनुअघि वेस्टइन्डिजकै ब्याटिङ प्रशिक्षक थिए। उनले त्यहाँ दुई वर्ष ब्याटिङ प्रशिक्षकको रूपमा भूमिका वहन गरिसकेका छन्। डिसेम्बर अन्त्यमा वेस्टइन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको मुख्य प्रशिक्षक भएर काठमाडौं ओर्लिएका थिए।

वेस्टइन्डिजका वर्तमान खेलाडीहरूबारे देसाइ पूर्णरूपमा जानकार रहेको बताइन्छ। 

कुनैबेला एकदिवसीय र विश्वकप क्रिकेटमा ‘रजगज’ रहेको वेस्टइन्डिज टिम अहिले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नुपरिरहेको छ। 

एकदिवसीय वरियतामा बंगलादेश र अफगानिस्तानभन्दा पनि पछाडि परेपछि वेस्टइन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो।

दुईदुईपटक च्याम्पियन भइसकेकोे वेस्टइन्डिज टिमले विश्वकप छनोटका लागि नयाँ उभ्रिँदै गरेका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ भनेर सम्भवतः सोचेको थिएन।

तर, यतिबेला उसले नेपाल, अमेरिका, स्कटल्यान्ड, जिम्बावेजस्ता टिमहरूसँग भिड्नु परिरहेको छ।

छनोट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजय भोग्नुपरेको नेपाली टोलीले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेर विजययात्रा सुरू गरेको छ।

बाँकी रहेका खेलहरूमा नेपाली टोली फेरि पुरानै लयमा फर्किने अपेक्षा प्रशिक्षक र खेलाडीहरूले राखेका छन्।

पछिल्लो २० प्रतियोगितामा १६ मा विजय हासिल गरेको छ भने दुई खेलमा पराजयको सामना गर्नुपरेको छ।

वेस्टइन्डिजविरूद्धको खेलमा नेपालले तीब्र गतिका बलरहरूको सामना गर्नुपर्ने देखिन्छ। किमो पाल, होल्डर, मेयर्स र अल्जारी जोसेफजस्ता तीब्र बलरहरू नेपालका लागि चुनौती बन्नसक्ने ठानिएको छ।

 

Tags: