post-slider post-slider

१५ वर्षअघि नेपाललाई प्रगतिमा डोर्‍याउने वाचा गरेका प्रचण्डले यसपालि के भन्लान्?

Image
A A

काठमाडौं- राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क पुगेका छन्। राष्ट्रसंघको कार्यक्रममा पुगे पनि धेरैको नजर महासभाबाट उनले सोझै चीनतर्फ गर्ने भ्रमणमा केन्द्रित हुनेछ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा पनि नेपालको शान्ति प्रक्रियाको अनुभव सुनाउने बताएका छन्।

परराष्ट्र मन्त्रालयले अघिल्लो साता जारी गरेको विज्ञप्तिमा चीन भ्रमणबारे चर्चा नगरिएको भए पनि महासभामा सहभागी हुने नेताहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले दिने रिसेप्सनमा प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउने जनाइएको छ।

तर, शुक्रबार संसदमा बोल्दै प्रचण्डले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्तै छोटो समय रहेकाले आफू न्यूयोर्कबाट सोझै चीनको भ्रमणमा जान लागेको जानकारी गराएका थिए।

सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न लागेका प्रधानमन्त्री प्रचण्डले २३ सेप्टेम्बरमा चीनको हाङजाओ सहरमा हुने एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

अमेरिकाबाट चीन संयोग कि बाध्यता

कोरोना महामारीयताका वर्षहरुमा सरकार प्रमुखको तहमा नेपालले महासभामा प्रतिनिधिमण्डल नपठाइएको अवस्थामा यसपटकको प्रधानमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ।

हुनत विश्व नेताहरुको जमघट हुने राष्ट्रसंघक«ो वार्षिक सम्मेलनमा सरकार प्रमुखबाहेक परराष्टमन्त्री वा सदस्य राष्ट्रहरुले तोकेका अन्य उच्च अधिकारीहरुले पनि सम्बोधन गर्ने अभ्यास छ।

महासभामा सम्बोधन गर्ने विस्तृत कार्यतालिका बाहिर नआइकनै प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुदको उदघाटनमा भाग लिन चीनको हाङजाओ जाने विवरण सार्वजनिक भएको थियो।

राष्ट्रसंघको महासभाहुँदै चीन आउने निर्णय लिएर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेको नेताहरु बताउँछन्।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका पूर्वसभामुख अग्निप्रसाद सापकोटा ज्यादै छोटो समयको अन्तराल भएकाले अमेरिकाबाट सोझै चीनको भ्रमण गर्ने परिस्थिति बनेको बताउँछन्।

यसअघि नयाँ नेपालको चर्चा गरेका प्रचण्डले यसपालि के भन्लान्?

प्रधानमन्त्रीको आफ्नो पहिलो कार्यकालमा सन् २००८ मा राष्ट्रसंघको ६३ औं महासभालाई सम्बोधन गरेका प्रचण्डले यसपालि दोस्रापटक सम्बोधन गर्न लागेका हुन्।

दश वर्षको सशस्त्र द्वन्द्वपछि शान्तिप्रक्रिया हुँदै चुनावमार्फत सरकारमा आएको पूर्वविद्रोही दलका नेताका हिसाबले त्यसबेला उनले नेपालमा भएका ऐतिहासिक परिवर्तनको चर्चा गरेका थिए।

उनले त्यो बेला आफूले सुदूरपश्चिमका दलित बालक, शोषणमा परेका पूर्वी नेपालका आदिवासी जनजाति, सुकुम्बासी थारु बालिका, भुमिहीन मधेसी र फुसको छानो भएको झुप्रोमा बसिरहेका पहाडका किसानहरुका आँखामा उत्साह देखेको भन्दै नेपाललाई दिगो विकास र प्रगतिमा डो¥याउने वाचा गरेका थिए।

त्यो बेला नयाँ नेपालको चर्चासमेत गरेका प्रधानमन्त्री प्रचण्डले महासभामा जलवायु परिवर्तन, अति कम विकसित देशका समस्या र नेपालको संक्रमणकालीन न्यायसँग जोडिएका विषयबारे पनि टिप्पणी गरेका थिए।

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको अनुभव सुनाउँदै संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने तयारीबारे जानकारी गराउने छन्।

शान्ति सम्झौतामा हस्ताक्षर भएको झन्डै १७ वर्ष पुग्दासमेत खासै प्रगति नदेखिएको संक्रमणकालीन न्यायको विषय योपालिको उनको भ्रमणमा उठ्नसक्ने ठानिएको छ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गटरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष्य तथा अति कमविकसित देशहरूको आर्थिक विकासलगायतका विषयमा छलफल भएको छ।

साथै नेपाल र संयुक्त राष्ट्रसंघबीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको प्रचण्डको सचिवालयले जनाएको छ।

उनले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरुबारे जानकारी दिँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेका कामहरुमा अन्तर्राष्ट्रिय समुदायको सदभाव खोज्ने बताएका थिए।

पछिल्लो समय नेपाल भ्रमण गरेका कतिपय उच्च अमेरिकी अधिकारीहरुले यथाशीघ्र चाँडो संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सुझाव दिने गरेको पाइन्छ।

सन् २००८ को आफ्नो महासभाको सम्बोधनमा दण्डहीनताको अन्त्य गर्ने वाचा गरेका प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगले शान्ति र न्यायबीचमा सन्तुलन कायम गर्ने जनाएका थिए।

यसपालि अन्य मुद्दा के के?

सन् २००६ को नोभेम्बरमा अति कम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरका चुनौतीका बारेमा विश्व समुदायको ध्यानााकर्षण गर्ने र अति कम विकसित देशहरुको समूहको अध्यक्षको हैसियतले यो समूहले झेल्दै आएका विशिष्ट चुनौतीहरुबारे आवाज उठाउने पनि उल्लेख गरेका थिए।

जलवायु परिवर्तनका क्षेत्रमा नेपाल जस्ता देशहरुले भोगिरहेका चुनौतीबारे पनि आफूले धारणा राख्ने उनको भनाइ थियो।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले युएन दिगो विकासका लक्ष्यहरु सम्बन्धी शिखर सम्मेलन र क्लाइमेट एक्सन समिटिमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।

चीन भ्रमणमा के हुँदैछ?

एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ पुग्ने र त्यहाँका कार्यक्रम सकेर उनी राजधानी बेइजिङ जाने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २३ मा हुने उदघाटन समारोहमा भाग लिनुअघि नै राष्ट्रपति सि जिनपिङलाई भेट्ने कार्यक्रम छ।

त्यहाँबाट उनी सेप्टेम्बर २५ मा बेइजिङ जाँदैछन् जहाँ उनले आफ्ना समकक्षी लि छियाङसँग भेटवार्ता गर्नेछन्। उनी तिब्बतहुँदै नेपाल फर्कनेछन्।

प्रचण्डले संसदमा भनेका थिए, ‘यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित र नेपाल चीन सम्बन्धलाई मजबुत बनाउन मेरो प्रयास रहने कुरा म यस सदनलाई अवगत गराउन चाहन्छु।’

प्रधानमन्त्री प्रचण्डले यो भ्रमणबाट चीनसँगको सहयोगात्मक सम्बन्ध थप बलियो हुने अपेक्षा गरेका छन्।

केही समयपहिले भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने निर्णय नेपालले लिएको थियो।

अघिल्लो महिनामात्रै ६५ अर्ब रुपैयाँभन्दा बढीको अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनको पाँच वर्षे कार्यान्वयन समयसीमा सुरु भएको छ।

यो सम्झौताप्रति चीनले सार्वजनिक असन्तुष्टि व्यक्त गरेको थियो।

Tags: