‘अनुसन्धानमा नाम जोडिए मलाई पनि हत्कडी लगाएर थुने हुन्छ’
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको क्रममा जोसुकैको नाम आए पनि नछाड्ने बताएका छन्।
सोमबार पार्टीको बागमती प्रदेस कमिटी बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन्।
उनले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताए।
‘महराजीको र उहाँको परिवारका सदस्यहरूबारे मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ। खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु,’ प्रचण्डकोे भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
गत वर्ष पुसमा भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराहरू पटक–पटक संदिग्ध चिनियाँ व्यापारीसँग टेलिफोन सम्पर्क गरेको खुलेको छ।
प्रचण्डले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको बताए।