post-slider post-slider

सिक्किममा बाढीको कहर : १४ जनाको मृत्यु, १०० बढी बेपत्ता

Image
A A

काठमाडौं- उत्तरपूर्वी भारतीय राज्य सिसिक्कममा अचानक आएको बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना बेपत्ता भएका छन्।

सोना क्षेत्रमा अचानक आएको भीषण वर्षाले निम्त्याएको उक्त विपदमा परेर १४ जनाको मृत्यु पुष्टि भइसकेको छ।

२२ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष प्रभावित भएको बताइएको क्षेत्रमा २१ वटा सहायता शिविरहरू स्थापना गरिएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताका लागि आश्वस्त पारेको बताएका छन्।

राहत तथा उद्धार प्रयासलाई तीव्रता दिने विषयमा भारतका क्याबिनेट सेक्रेटरी राजीव गौबासहित विभिन्न निकायका प्रतिनिधिहरूसँग सिक्किमका मुख्यसचिव भीबी पाठकबीच भर्चुअल बैठक भएको छ।

जसमा पाठकले केन्द्र सरकारबाट तत्काल थप सहायता चाहिनेबारे जोड दिएको बताएका छन्।

मंगलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलाधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो।

बुधबार बिहान ६ बजे केन्द्रीय जल आयोग सिडब्ल्युसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीम मिटर बढेको थियो।

रक्षा मन्त्रालयका एक जना प्रवक्ताले तटीय क्षेत्रहरूमा अचानक १५–२० फिटसम्मले जलसतह बढेको बताएका छन्।

नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको बताइएको छ।

सीडब्ल्यूसीका अनुसार बाढी असोज १६ को मध्यरातबाट सुरू भएको थियो। बिहान ६ बजे र दिउँसो २ बजे भारत र बंगलादेशमा बाढी पूर्वानुमान गरिएका थिए।

उत्तरी क्षेत्रलाई बाँकी राज्यसँग जोड्ने दुईवटा पुल बाढीले बगाएपछि त्यहाँको यातायात नराम्ररी प्रभावित बनेको छ।

अधिकारीहरूले केही सैन्य गाडीहरू हिउँको लेदोमा डुबेको बताएका छन्।

कैयौं बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएपछि त्यहाँसमेत सहायता प्रयासहरू अगाडि बढाइएको छ।

बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित बनेका छन्।

नामची जिल्लामा स्थापना गरिएको एक सहायता शिविरमा झन्डै पाँच सय मानिसहरू राखिएका छन्।

अधिकारीहरूले तल्लो तटीय क्षेत्रमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा तीन हजारभन्दा धेरै पर्यटक रोकिएका छन्।

 

Tags: