post-slider post-slider

प्रधानमन्त्री स्वदेश फिर्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। 

प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

उनलाई सिचुवान प्रान्तका उपगर्भनर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरूले छन्तु विमानस्थलबाट बिदाइ गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड अमेरिकापछि ८ दिनको चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन्।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आमबहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए।

न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको थियो।

प्रचण्ड अमेरिकाबाट सोझै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

चीनमा उनले राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।

त्यो क्रममा उनले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाएका थिए।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए।

चीनमा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

 

Tags: