post-slider post-slider

इंग्ल्यान्डविरूद्ध दक्षिण अफ्रिकाको शानदार जित

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरूद्ध शानदार जित हासिल गरेको छ।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई २२९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले शानदार जित हासिल गरेको हो।

मुम्बईस्थित बानखेडे स्टेडियममा टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङका लागि निम्तो दिएको इंग्ल्यान्डका ब्याटरहरू लक्ष्य पछ्याउने क्रममा उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

दक्षिण अफ्रिकाले हेनरिक क्लासेनको विस्फोटक शतकीय इनिङको मदतले इंग्ल्यान्ड सामू जितका लागि ४०० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

विश्वकपको करियरमा क्लासेनको यो पहिलो शतक हो।

पाँचौ नम्बरमा ब्याटिङका लागि मैदानमा उत्रिएका क्लासेनले ६७ बलमा १०९ रन बनाए। उनले १२ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै रीजा हेन्ड्रिक्स ८५, रेसीभेल डेर दुसान ६० र एडेन माकरमले ४२ रनको योगदान दिएका थिए।

ब्याटिङमा क्लासेनलाई साथ दिएका अलराउन्डर मार्को जानसेनले पनि आक्रमक ब्याटिङ गर्दै इंग्ल्यान्डसामू जितका लागि विशाल लक्ष्य प्रस्तुत गर्न योगदान दिए।

जानसेनले ४२ बलमा ७५ रन बनाउँदै नटआउट रहे। उनले ३ चौका र ६ छक्का प्रहार गरे।

दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३९९ रन जोडेको थियो।

दक्षिण अफ्रिकाका बलरसामू धारासायी भएको इंग्ल्यान्ड २२ ओभरमा सबै विकेट गुमाउँदै १७० रनमा अलआउट भयो।

विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ४३ रन बनाए। त्यस्तै ग्लस एकिन्सले ३५ रनको योगदान दिए। यी दुई ब्याटरबाहेक इंग्ल्यान्डका अरू कसैले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

जोनी ब्रेस्टो १०, डेभिड मिलान ६, जोय रुट २, बेन स्टोक्स, ५, ह्यारी ब्रुक १७ र जोस बटलर १५ रनमा आउट भए।

दक्षिण अफ्रिकाका लागि गेराल्ड कोट्जेले सर्वाधिक ३ विकेट लिँदा लंगी एनगिडी, जेनस्नले २–२ तथा केसिगो रबाडा र केशव महाराजले १–१ विकेट लिए।

यसअघि दक्षिण अफ्रिका विश्वकपको कमजोर टिम ठानिएको नेदरल्यान्ड्स र इंग्ल्यान्ड अफगानिस्तानसँग पराजित भएको थियो।

इंग्ल्यान्डविरूद्धको जितसँगै ६ अङ्कसहित दक्षिण अफ्रिका अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ। त्यस्तै अहिलेसम्म चारमध्ये एकमात्र म्याच जितेको इंग्ल्यान्ड यतिबेला अङ्कतालिकाको ९ औं स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेर श्रीलंकाले जारी विश्वकपमा पहिलो जित हासिल गरेको छ।

अङ्कतालिकामा श्रीलंका ८ औं स्थानमा रहेको छ।

आइतबार अङ्कतालिकाको शीर्ष स्थानमा रहेका दुई टिम न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

 

Tags: