post-slider post-slider

कर्णालीमा गठबन्धनको तीन गुणा बढी मतभार

Image
A A

काठमाडौं ।  माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत कर्णालीमा तीनवटा स्थानका लागि निर्वाचन हुँदैछ । सोमबार सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

६ वर्षअघि कर्णालीबाट राष्ट्रिय सभा सदस्य बनेका भैरव सुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईँको फागुनमा पदावधि सकिँदैछ । जाजरकोटका श्रेष्ठ अन्य, कालिकोटका लुवार दलित र सुर्खेतकी चपाईँ महिला कोटाबाट राष्ट्रिय सभा सांसद बनेकी थिइन् । तीनै कोटामा निर्वाचन हुन लागेको हो । 

गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश महामन्त्री कृष्ण रोकाया उम्मेदवार बनाइएको छ भने नेकपा (माओवादी केन्द्र) बाट विष्णु विक ‘विकल्प’ उम्मेदवार हुन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लले उम्मेदवारी दर्ता गराएकी छिन् । रुकुम पश्चिमका रोकाया अन्य, कालिकोटका विक दलित र दैलेखकी मल्लले महिला कोटाका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । 

मल्ल २०७४ मा नेकपा एमालेबाट नारायण नगरपालिकाको उपप्रमुख हुन् । पछि एमाले विभाजनपछि उनी समाजवादीतिर लागेकी हुन् । माओवादीका उम्मेदवार  विष्णुबहादुर विक कालिकोटका पुराना नेता हुन् । 

सुरुदेखि नै माओवादी आन्दोलनमा लागेका उनी पार्टीभित्र इमानदार नेताका छवि भएका व्यक्ति हुन् । उनी पनि सहिद परिवारका हुन् । कर्णाली प्रदेश दलित मुक्ति मोर्चाको संयोजक हुँदै केन्द्रीय सचिव भएकी उनले यसअघि पार्टीमा थारुवान, पश्चिम र भेरी–कर्णालीको कमाण्ड सम्हालेका थिए ।  

कांग्रेसका रोकाया भने यसअघि दुई पटक प्रत्यक्षतर्फको चुनावमा पराजित भएका हुन् । उनी ०७० को संविधान सभा र एक पटक प्रदेश सभाको चुनावमा पराजित भएका हुन्। गठबन्धनको मतभार संख्या धेरै हुँदाहुँदै पनि यता एमालेले पनि तीनवटै सिटमा उम्मेदवार खडा गरेको छ । महिला कोटातर्फ हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका छन्। 

कुन दलको मतभार कति?

मतभारको संख्या हेर्दा कर्णालीमा सत्तारुढ गठबन्धनको विजयी हुने निश्चित देखिन्छ । प्रदेश सभा अन्तर्गत ४० सिट छ भने ७९ वटा स्थानीय तहमा नगरप्रमुख(उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी १५८ वटा जनप्रतिनिधि छन् । यद्यपि जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह र दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएकाले मतदान गर्ने पालिकाका जनप्रतिनिधिको संख्या १५६ रहेको छ ।

प्रदेश सभा र स्थानीय तहको गरी १९६ जना मतदाता कायम भएका छन् । स्थानीय तह प्रमुख÷उपप्रमुख र प्रदेश सभा सदस्यहरु मतदाता हुने यो निर्वाचनअन्तर्गत प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम हुनेछ ।

प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनसँग २९ मतदाता संख्या छ । कांग्रेस एक्लैसँग १५ (स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेसमा फर्किएसँगै), माओवादीसँग १३ र समाजवादीका १ सांसद छन् । यो हिसाबले गठबन्धनको मतभार संख्या एक हजार ५३७ छ । 

स्थानीय तहतर्फ कांग्रेससँग ५९ जना मतदाता छन् । निधन भएका नलगाडका उपप्रमुख र महावुका अध्यक्ष दुबै कांग्रेसबाटै निर्वाचित थिए । तर, कांग्रेसकै बागीमा रुपमा रहेका जुम्लाको चन्दनाथ नगरपालिकाका मेयर राजुसिं कठायत र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही कांग्रेसमै फर्किएपछि कांग्रेसका पालिका प्रमुख र उपप्रमुखको संख्या ५९ नै कायम छ । 

यस्तै, माओवादीबाट निर्वाचित पालिका प्रमुख(उपप्रमुख र अध्यक्ष(उपाध्यक्षको संख्या ४९ रहेको छ भने एकीकृत समाजवादीको १० जना छन् । गठबन्धनसँग पालिकातर्फ ११८ मतदाता संख्या र २ हजार २४२ मतभार संख्या छ ।  प्रदेश सभामा १० सांसद रहेको एमालेको मतभार संख्या ५३० छ ।

प्रदेशमा एक जना राप्रपाका सांसद पनि छन् । नेकपा एमालेसँग पालिकाका प्रमुख र उपप्रमुख गरी ३५ मतदाता संख्या छ भने ६६५ मतभार संख्या छ । 

सत्तारुढ गठबन्धनको प्रदेशतर्फ १ हजार ५३७ र पालिकातर्फको २ हजार २४२ मतभार जोड्दा ३ हजार ७७९ हुन्छ भने एमालेको पालिका र प्रदेश सभागरी १ हाजर १९५ मतभार संख्या रहेको छ । मतभारको हिसाबले गठबन्धनको मतभार संख्या एमालेको भन्दा तीन गुणा बढी रहेको छ । राप्रपालाई समेत साथमा लिए पनि एमालेले चुनाव जित्न सक्ने अवस्था रहँदैन ।

Tags: