आज देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। अहिले मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशभर वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्तालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।