सीटीईभीटीले नर्सिङ, एचए र फार्मेसी सहायकको शिक्षण शुल्क बढायो
काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी को अध्ययनका लागि शुल्क बढाएको छ।
सीटीईभीटी ले शुक्रबार नयाँ शुल्कको सुचना प्रकाशित गरेको छ । उक्त सूचना अनुसार सीटीईभीटी ले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि उक्त शुल्क ४ लाख ७५ हजार रुपैयाँ थियो।
एचए तर्फ अब ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। यसअघि ४ लाख ४ हजार शुल्क थियो।
फार्मेसी असिस्टेन्टका लागि सीटीईभीटी ले नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकेको छ। यसअघि ३ लाख ३७ हजार शुल्क थियो।
सीटीईभीटीका अनुसार निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको हो। तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।