post-slider post-slider

संसद‍्मा उठ्यो प्रश्न- महँगीले ढाड सेक्यो, के हेर्दै छ सरकार?

Image
A A

काठमाडौं- सांसदहरूले चाडबाडको मुखमा महँगीले आकाश छोएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले महँगी, कालोबजारी र भ्रष्टाचारले जनताको ढाड सेक्दा पनि सरकार मौन रहेको आरोप लगाए।

उनीहरूले सरकार कानमा तेल हालेर सुतिरहेको भन्दै कटाक्षसमेत गरे। चाडबाडलक्षित सहुलियत र राहतका कार्यक्रम ल्याउनसमेत सांसदहरूको माग छ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा आर्थिक मन्दी लागेर उद्योगधन्दा बन्द हुने र बेरोजगारीले जनता रन्थनिएको भन्दै राहतका कार्यक्रम ल्याउन माग आग्रह गरे।

आर्थिक मन्दीले साना तथा मझौला उद्योग बन्द भएको र औद्योगिक क्षेत्र हतोत्साहित भएको उनको भनाइ छ। 'आर्थिक मन्दी र बेरोजगारीले जनता रन्थनिएका छन्। पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ। चाडवाडको बेला महँगीले आकाश छोएको छ, यस्तो बेला सरकार के हेरेर बसिरहेको छ?,’ उनले प्रश्न गरे।

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारले बोलीअनुसारको काम गर्न नसकेको भन्दै आपत्ति जनाए।  ‘सरकार जे बोल्छ, त्यसको ठीक उल्टो काम गर्छ । त्यसकारण म सरकारलाई सुझाव दिन चाहान्छु कि सरकारले मूल्यवृद्धि बढाउँछु भनोस्, त्यही अहिले आकाशिएको महँगी घटिहाल्ला कि?,’ उनी भन्छन्।

नेकपा माओवादी केन्द्रकै सांसद उर्मिला माझीले पनि चाडवाडको मुखमा मूल्यवृद्धिले जनतालाई त्रसित बनाएको बताइन्। महँगीले आकास छुँदा पनि सरकार मौन रहेको उनको आरोप छ।

कांग्रेस सांसद उदय शमशेर जबराले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएर राम्रो गरेको, तर राजधानीकै बजारमा फैलिएको कालोबजारी नियन्त्रण गर्न नसकेको आरोप लगाए। 

Tags: