post-slider post-slider

राम मन्दिर निर्माणको अवसरमा जनकपुरबाट अयोध्या ‘भार’ पठाइँदै

Image
A A

जनकपुरधाम- जनकपुरधामबाट भारतको अयोध्याका लागि ‘भार’ (पाहुर) पठाइने भएको छ।

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट कोसेलीस्वरूप पाहुर पठाउन लागिएको हो।

अयोध्यामा आगामी २२ जनवरीमा राम मन्दिरको उदघाटन गर्ने तयारी भइरहेको छ। 

माता सीताको ससुरा अयोध्यामा भगवान रामको मन्दिर निर्माण भएकाले ‘गृह प्रवेश’ को अवसरमा जनकपुरधामबाट कोसेली पठाउन लागिएको हो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जनकपुरधामबाट आगामी ६ तारेखकका दिन अयोध्याका लागि कोसेली पठाइने जानकारी दिए।

‘जनकपुरधाम र अयोध्याबीच माता जानकीको माइती र ससुरालीको सम्बन्ध छ,’ दासले भने,‘यो सम्बन्धको हिसाबले जानकीको माइतीबाट भगवान रामको गृहप्रवेशको अवसरमा जनकपुवासीको तर्फबाट भार पठाउन लागेका छौं।’

उनले कोसेलीमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तन, मिठाइलगायतका पकवान रहने बताए।

भारसहितको टोली जनकपुरधामबाट आगामी ४ तारेखका दिन अयोध्याका लागि प्रस्थान गर्नेछ।

उत्तराधिकारी महन्त दासले कोसेलीसहितको टोली जनकपुरधामबाट जलेश्वरनाथबाट हुलाकी सडकबाट सर्लाहीको मलंगवा, बाराको सिम्रौनगढ हुँदै वीरगञ्ज पुग्ने बताए।

राति वीरगञ्जमा विश्राम गरी भोलिपल्ट बिहान ८ बजे बिहारको बेतिया हुँदै उत्तर प्रदेसको गोरखपुर र त्यसपछि अयोध्या पुग्ने उनले जानकारी दिए।

अयोध्या पुगेको भोलिपल्ट ६ तारेखकका दिन विधिवत राम जन्मभूमि राम मन्दिर ट्रस्टलाई सम्पूर्ण कोसेली हस्तान्तरण गरिने उत्तारधिकारी महन्त दासले बताए।

अयोध्यासम्म कोसेली पठाउन ११ सय सदस्यीय ‘जनकपुरधाम–अयोध्या भारयात्रा मूल समारोह समिति’ गठन गरिएको छ।

समितिको नेतृत्व उत्तराधिकारी महन्त दासले गर्नेछन्। समितिको संरक्षकका रूपमा जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दास र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई चयन गरिएको छ।

राम मन्दिर निर्माणको अवसरमा अयोध्या पठाउन लागिएको कोसेलीका लागि जानकी मन्दिरले आ–आफ्नो खुसीले सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गरेको छ।

 

Tags: