post-slider post-slider

सिम्रौनगढमा प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा विवाद, गोली लागेर एकको मृत्यु

Image
A A

काठमाडौं- बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको हो।

नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर प्रतिपक्षी समूह तथा अनशनमा बसेको व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरी नागरपालिकाको गाडी तथा नगरपालिका भवनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक शोभनविक्रम राणाले बताए।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ खटिएको सुरक्षाकर्मीले अश्रुग्यास तथा हवाइ फायर गर्ने क्रममा एक जना घाइते भएका थिए।

गोली  लागेर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा मृत्यु भएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

मृतक सिम्रौनगढ नगरपालिका–१ बस्ने लक्ष्मी मुखिया बिन रहेको उनले बताए।

विपक्षी समूहले गरेको ढुंगामुढाबाट १० जना प्रहरी घाइते हुनुका साथै नगरपालिका कार्यालयको गाडी र भवनमासमेत क्षति पुगेको प्रहरीले बताएको छ।

६ महिनादेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा नजिकै रहेको पचरौता नगरपालिकाबाट महेशकुमार मिश्र सरूवा भएर आएका थिए।

प्रमुख प्रशासकीय अधिकृतका रूपमा मिश्रलाई स्वीकार नगर्ने भन्दै एक पक्ष विरोधमा उत्रिएका थिए।

नगर प्रमुख किशोरी साह कलवारको गाडी चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारीसमेत आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनकारीहरूले गाडी चलाउने तथा नगरपालिकाको कार्यालयमासमेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको एसपी काफ्लेले बताए।

 

Tags: