post-slider post-slider

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा

Image
A A

काठमाडौं- संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने मन्त्रिपरिषद बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।

त्यस्तै नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय भएको मन्त्री किरातीले बताए।

नेम्वाङका एउटा छोरा बेलायत र अर्का छोरा अस्ट्रेलियामा छन्।

काठमाडौंको बालुवाटारस्थित निजी निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए। उनी हाल इलाम–२ बाट प्रतिनिधिसभाका निर्वाचित सदस्य हुन्।

नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर च्यासलस्थित पार्टी कार्यालयमा राखिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर ल्याइने भएपछि पार्टी कार्यालयमा एमाले नेताहरू जम्मा हुने क्रम सुरू भइसकेको छ।

विदेशबाट छोराहरू  आइसकेपछि बुधबार नेम्वाङको अन्त्येष्टि गरिने जनाइएको छ।

 

Tags: