post-slider post-slider

गौर घटनाका दोषीलाई कारबाही नभए चुप बस्दैनौं, हेग जान्छौं : प्रभु साह

Image
A A

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीलाई कारबाही नभए न्यायका लागि अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने चेतावनी दिएका छन्।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले गौर घटनाका दोषीहरूलाई कारबाही नगरे आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन्।

पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाका विषयमा सहमति गरे पनि सरकार पछि हटेको उनले बताए।

‘गौर घटनाका पीडितहरूसँग सम्झौता गरेर दोषीलाई कारबाही गर्न सरकार पछि हटेको छ,’ साहले भने,‘दोषीलाई कारबाही नभए हाम्रो पार्टी चुप लागेर बस्दैन। नेपालबाट न्याय नपाए पीडितहरू अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जानेछन्।’

गौर घटनामा १७ वर्षअघि नै जाहेरी दर्ता भएको पनि अहिलेसम्म छानबिनसमेत नभएको भन्दै उनले कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे।

कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको भन्दै उनले भने,‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैनन्।’

साहले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूलाई जोगाएको, ललित निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा नचलाइ सरकारी साक्षी बनाएको बताए।

सुनकाण्डमा पनि ठूला नेताहरूको नाम आएपछि सरकार हच्किएको उनको भनाइ छ।

माओवादी केन्द्रलगायतका दलहरूले निर्माण गरेको समाजवादी मोर्चा जनतालाई गुमराह गर्न मात्रै बनाइएको साहले टिप्पणी गरे।

नेताहरू आफ्नो गल्तीलाई ढाकछोप गर्न कथित समाजवादी मोर्चा बनाएको उनको आरोप छ।

‘आज कैयौं नेताज्यूहरू आफ्नो गल्तीलाई ढाकछोप गर्न, आफ्नो अपराधलाई चोख्याउन, जनतालाई फेरि गुमराह गर्न कथित समाजवादी मोर्चाको हल्ला मचाइरहेका छन्,’ अध्यक्ष साहले भने,‘पुरानै रंग ढंगमा जनतालाई ठग्न सकिँदैन भनेर समाजवादी मोर्चाको नयाँ नाम दिएर केही नेताहरू अगाडि बढेका छन्।’

जीवनकालमा कहिल्यै सफल नभएकाहरू आफ्नो असपलता र गल्तीलाई ढाकछोप गर्न समाजवादी मोर्चाको गठन गरेको दाबी गर्दै यसको कुनै औचित्य नभएको उल्लेख गरे।

 

Tags: