post-slider post-slider

नक्कली नागरिकता बनाइदिने वडाध्यक्ष जेल चलान

Image
A A

झापा- झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडाध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ।

राजवंशविरुद्ध झुटो विवरण पेश गरि नागरिकता बनाइदिएको आरोपमा मुद्दा दायर भएपछि राजवंशी फरार रहेका थिए। उनलाई शनिबार पक्राउ गरि आइतबार कारागार चलान गरिएको हो।

पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए। 

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसलाले राजवंशीलाई झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको थियो।

घटना विवरणअनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट २०७३ देखि २०७६ सम्ममा १६ जना गैर नेपालीलाई नागरिकता दिइएको थियो। आर्थिक प्रलोभनमा परी राजवंशीसहित प्रशासन कार्यालयका कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए।

गैर-नेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो। नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बाबुआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको थियो।

टेकबहादुर र रिनालाई बाबुआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका छन्।उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो।

गैर-कानुनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङ लगायत छन्।

प्रशासन कार्यालय झापाले गैर कानुनी रूपमा २०७६ जेठ १२ मा तीन जनालाई, जेठ २० मा एक जनालाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको थियो। २०७६ जेठ ६ मा चार जनालाई नागरिकता दिइएको थियो।

Tags: