post-slider post-slider

संसदीय समितिले पाउने भयो सभापति, ११ भदौमा निर्वाचन

Image
A A

काठमाडौं- संसदको संसदीय समितिले सभापति पाउने भएको छ। गठन भएको पाँच महिनापछि संसदीय समितिहरूले सभापति पाउने भएका छन्।

सभामुख देवराज घिमिरेले संसदीय समिति सभापतिको निर्वाचनका लागि भदौ ११ गतेको मिति तोकेका छन्।

बिहीबार सभामुख घिमिरेको कार्यकक्षमा बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते सबै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।

यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया सुरू हुने सभामुखको सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभाका १० तथा प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त दुई गरी जम्मा १२ वटा समितिका सभापति चयन हुन सकेका छैनन्। सभापति चयन नहुँदा अहिले समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्ने गरेको छ।

सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नदिँदा संसदीय समितिहरू प्रभावहीन भएका थिए। 

यसबीचमा संवैधानिक परिषदबाट सिफारिस भएका दुई प्रधानन्यायाधीशको सुनुवाइ तदर्थ समितिबाटै भएको थियो।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको नेतृत्वका लागि भागबन्डा मिलेपछि सभामुख घिमिरेले निर्वाचनको मिति तोकेका हुन्।

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, नेकपा(एकीकृत समाजवादी), जसपा र जनमतले १–१ वटा समितिको सभापति लिने भएका छन्।

संसदको चौथो ठूला दल रास्वपा र पाँचौं ठूलो दल राप्रपालाई संसदीय समितिको सभापति दिइएको छैन।

कांग्रेसले अर्थ, संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ।

यस्तै एमालेले लेखा, महिला तथा सामाजिक मामिला र राज्य निर्देशक सिद्धान्त, नीति र दायित्को कार्यान्वयन अनुमगत तथा मूल्याङ्कन समितिको सभापति लिने भएको छ।

माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानव अधिकारी समितिको नेतृत्व गर्ने भएको छ।

त्यस्तै एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि, जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र जनमतले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति लिने भएको छ।

प्रतिनिधिसभाका विषयगत समितिहरूको गठन वैशाख १५ मा भएको थियो।

 

Tags: