post-slider post-slider

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा

Image
A A

काठमाडौं- देशका केही भू–भागमा आज पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागको केही स्थानमा र बाँकी क्षेत्रको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ। सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।

नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको विभागको भनाइ छ।

 

Tags: