post-slider post-slider

बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वालालाई आजै बर्खास्त गर्ने प्रधानमन्त्रीको संकेत

Image
A A

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारवाही गर्ने विषय आजै टुंगो लाग्ने बताएका छन्।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको र अध्ययनपछि आजै के गर्ने भन्नेबारे टुंगो लगाइने बताएका हुन्।

बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन्। तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन्।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले गत पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको थियो। 

छानबिन गर्न गठित आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित डिएसपी उमेश लम्साल र पिएसओ बोधराज दुनुवार दोषी रहेको निष्कर्ष निकालेको थियो।

मन्त्री ज्वालालाई कारबाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गर्न सुझाव सहितको प्रतिवेदन आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो। घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया बढेको छैन।

Tags: