post-slider post-slider

‘रिगल’ रिहाइविरूद्ध भारतीले सुरू गरिन् अनशन

Image
A A

काठमाडौं- पतिको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले गरेको कैद मिनहाविरूद्ध भारती मानन्धरले अनशन सुरू गरेकी छन्।

श्रीमान चेतन मानन्धरको हत्या गर्ने ढकालको सरकारले कैद मिनहा गरेको भन्दै भारतीले बुधबारदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्।

उनले न्याय नपाएसम्म घर नफर्किने बताइन्।

‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न्,’ अनशनस्थलमा पत्रकारहरूसँग उनले भनिन्।

रिगलविरूद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजो चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर ३ वर्षदेखि १० वर्षसम्म कैद सजाय सुनाइएको थियो।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनहा गरेपछि रिगल छुटेका थिए।

कैद मिनहा गर्ने सरकारको निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले अनशसन सुरू गरेकी हुन्।

रिगललाई कैद मिनहा दिने निर्णयविरूद्ध उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन्।

 

Tags: