post-slider post-slider

‘आम’ बाट ‘खास’ बनेका मोहम्मद सिराज

Image
A A

काठमाडौं- भारत आठौंपटक एसियाको च्याम्पियन बन्यो। तर, २०२३ को एसिया कप क्रिकेटमा मोहम्मद सिराजको इनिङ इतिहासमा दर्ज भइसकेको छ।

कप्तान रोहित शर्माले  यसको लामो समयसम्म प्रशंसा हुने बताएका छन्। भारतका तीव्र गतिका बलरहरू धेरै अघिदेखि कडा मिहिनेत गरिरहेको उनले बताए।

आइतबार फाइनल खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो। बादल मडराइरहने स्थितिमा श्रीलंकाको यो फैसलालाई क्रिकेटका जानकारहरूले आश्चर्य व्यक्त गरे।

टसलगत्तै वर्षा भयो। जसका कारण खेल करिब ४० मिनेट ढिलो गरी सुरू भएको थियो।

धेरै वर्षा नभए पनि भारतीय तीव्र गतिका बलरहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्न अनुकूल माहोल प्राप्त भइसकेको थियो।

बलिङको सुरूवात जसप्रित बुमराहले गरे। उनको बल हावामा घुम्दै टप्पा खाइसकेपछि दुवैतर्फ स्विङ भइरहेको थियो।

सिराजको गोल्डेन ओभर

खेलको पहिलो ओभरमै बुमराहले कुशाल परेरालाई विकेटपछाडि विकेटकिपर केएल राहुलको हातबाट क्याच आउट गराए।

म्याचको दोस्रो ओभर फाल्न सिराज आए। यसै ओभरमा उनले अगाडिको ‘ट्रेलर’ देखाइ दिएका थिए।

फर्ममा रहेका कुसाल मेन्डिस ब्याटिङ गरिरहेका थिए। सिराजले उनलाई आफ्नो फुलर, लेन्थ बल र एन्गल्ड बलले अफ स्टन्प बाहिर बिट गराइरहे। त्यसपछि कप्तान रोहित शर्माले तेस्रो स्लिप पनि लगाइदिए।

म्याचको चौथों र सिराजको दोस्रो ओभर एकदिवसीय क्रिकेटमा अविस्मरणीय बन्यो।

पहिलो बलमा सिराजले प्रथुम निस्सांकालाई रवीन्द्र जडेजाको हातमा क्याच आउट गराए। जडेजाले प्वाइन्टमा डाइभ लगाएर उत्कृष्ट क्याच समाए।

तेस्रो बल सदीरा समरविक्रमको प्याडमा ठोक्कियो। र, उनी एलबिडब्ल्यू आउट भए।

अघिल्लो बलमा सिराजले चरित असालांकालाई कवरमा उभिएका इशान किसनको हातबाट क्याच आउट गराए। सिराज ह्याट्रिकमा थिए। तर, धनञ्जय डीसिल्वाले बललाई मिडअनबाट बाउन्ड्री बाहिर पठाइदिए।

अघिल्लो बलमै धनञ्जयलाई सिराजले आफ्नो गुडलेन्थ बलमा अलमलमा पारिदिए। धनञ्जय शरीरबाट टाढा रहेर खेल्न चाहेका थिए। तर, बल ब्याटको बाहिरी हिस्सा छोएर विकेकिपर केएल राहुलको हातमा पुग्यो।

यो ओभरमा सिराजले चार विकेट लिए। र, आधा श्रीलंकाली टिम केवल १२ रनको स्कोरमा प्याविलियन फर्किइसकेको थियो।

त्यसपछि सिराजले पाँचौं र छैठौै विकेट लिँदा श्रीलंकाको बाँकी तीन विकेट हार्दिक पान्ड्याको पोल्टोमा गयो।

विपक्षी कप्तान र वसिम अकरमले के भने?

म्याचपछि श्रीलंकाका कप्तान दसुन शनाकाले आकाशमा बादलका कारण तीव्र गतिका बलरलाई मदत पुगेको स्वीकार गर्दै सिराजको प्रशंशा गरे।

उनले सिराजको प्रदर्शन ज्यादै प्रभावकारी भएको बताए।

पाकिस्तानका पूर्वकप्तान र तीव्र गतिका बलर वसिम अकरमले त भारत विश्वकपको सबैभन्दा ठूलो दाबेदार भएको बताइदिए।

‘यो भारतीय टिमको शक्तिको प्रदर्शन थियो। यो टिम आफ्नो मैदानमा हुने आगामी विश्वकपमा जितका लागि सबैभन्दा प्रबल दावेदार हो,’ अकरमले भने।

सिराजले के भने?

म्याचपछि सिराजले भने,‘पिच राम्रो थियो र बल विकेटमा स्विङ गरिरहेको थियो।’

यसअघि यस्तो स्विङ आफूले प्राप्त गर्न नसकेको उनले बताए।

सिराज ‘प्लेयर अफ द म्याच’ भए। ट्रफी र पुरस्कार रकमका लागि बोलाइएपछि उनले ‘प्लेयर अफ द म्याच’ को रकम ग्राउन्ड्स म्यानलाई दिने घोषणा गरे।

फाइनलमा के भयो?

सिराजको बलिङ सामुन्ने ६ पटक च्याम्पियन भइसकेको श्रीलंकाइ टिम १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो।

श्रीलंकाका विकेटकिपर ब्याटर कुसल मेन्डिसले यो म्याचमा टिमका लागि एक तिहाइ रन जोडे। उनले सर्वाधिक १७ रनको इनिङ खेले। त्यस्तै दुशान हेमन्ताले १३ रनको योगदान दिए।

यसबाहेका श्रीलंकाको कुनै पनि ब्याटर दोहरो अंकको आँकडा पार गर्न सकेनन्। पाँच जना ब्याटर त आफ्नो खातासमेत खोल्न सकेनन्।

भारतको तर्फबाट म्याचको पहिलो विकेट बुमराहले लिए। सिराजले ७ ओभरमा २१ रन दिएर ६ विकेट लिए। पान्ड्याले २.२ ओभरमा ३ रन दिएर ३ विकेट लिए।

५१ रनको लक्ष्यका अगाडि शुभमन गिलसँग इशासन किसन ओपनिङको मोर्चा सम्हाले। नियमित ओपनर रोहित शर्मा आफैं आएनन्।

इशान र गिल नटआउट रहँदै टिमलाई १० विकेटले जित दिलाए।

गिलले २७ र इशानले २३ रन बनाए। भारतीय टिम ६.१ ओभरमै म्याच जित्यो।

कीर्तिमान

यो एकदिवसीय क्रिकेटमा कुनै पनि फाइनल म्याचको सबैभन्दा न्यूनतम स्कोर हो। यसअघि यो रेकर्ड भारतको नाममा थिए। सन् २००० मा शारजाहमा यही श्रीलंका टिमविरूद्ध भारतीय टिम ५४ रनमै अलआउट भएको थियो।

त्यतिमात्रै होइन यो भारतविरूद्ध एकदिवसीयमा कुनै पनि टिमको न्यूनतम स्कोर पनि हो।

यसअघि यो रेकर्ड बंगलादेशको नाममा थियो। सन् २०१४ मा मीरपुर एकदिवसीयमा बंगलादेश ५८ रनमा अलआउट भएको थियो।

सिराजको कथा

हैदराबादको एक साधारण परिवारमा हुर्किएका सिराजका बाबु अटो चालक थिए। आमा अरूको घरमा काम गर्थिन्।

सन् १९९४ मा जन्मिएका सिराजले कहिल्यै पनि क्रिकेट एकेडमी जाने मौका पाएनन्।

कम उमेरमै क्रिकेट खेल्न सुरू गरिसकेका सिराजको रूची पहिले ब्याटिङतर्फ थियो। तर, पछि उनी बलिङतर्फ केन्द्रित भए।

सन् २०१५ मा २१ वर्ष उमेर छँदा हैदराबादको रणजी टिममा चयन भएसँगै उनले आफ्नो कौशल देखाउन सुरू गरिदिए।

त्यो बेला ९ म्याचमा १८.९२ को औसतले ४१ विकेट लिएर उनी त्यो वर्षको तेस्रो सफल बलर बने।

दुई वर्ष रणजी ट्रफी खेलिसकेपछि सिराजले २०१७ मा ठूलो अवसर पाए। रणजीमा गरेको प्रदर्शनका कारण उनी आइपिएलमा खेलाडीहरूको लिलामीको रेसमा आए।

जब आधार मूल्यभन्दा १३ गुणा बढी रकम भेट्यो

आइपिएलको लिलामीका बेला सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैगलोरबीच उनलाई आफ्नो टिममा सामेल गराउन होडबाजी चल्यो।

अन्ततः सनराइजर्स हैदराबाले सिराजलाई खरिद ग¥यो। त्यो पनि लामो समयसम्म चलेको बोलीपछि १३ गुणा बढी रकममा।

त्यो बेला सिराजको आधार मूल्य २० लाख रूपैयाँ राखिएको थियो। तर, उनले २.६ करोड रूपैयाँ पाए।

आइपिएलमा चयन भएपछि सिराजले भनेका थिए,‘यो सपना साकार भए जस्तै हो। यो मैले सोचेको भन्दा टाढाको विषय हो। यति धेरै रकममा मेरो चयन हुन्छ भनेर मैले सोचेको पनि थिइनँ।’

सन् २०१७ मा सनराइजर्स हैदराबादको तर्फबाट आइपिएलको इनिङ सुरू गरेका सिराजले अन्तिम लिग म्याचमा चार विकेट लिएका थिए।

अर्को वर्ष रोयल च्यालेन्जर्स बैंगलोरले अन्ततः उनलाई खरिद ग¥यो। र, त्यो बेलादेखि सिराज निरन्तर यही टिमबाट आइपिएल खेल्दै आइरहेका छन्।

अन्तर्राष्ट्रि टि–२०

आइपिएलको पहिलो वर्षमा शानदार बलिङका कारण केही महिनामै सिराजले भारतको टि–२० टिममा चयन भए।

न्युजिल्यान्डविरूद्ध उनले खेल्ने मौका पाए। सिराजले कप्तान केन विलियम्सनको रूपमा आफ्नो करियरको पहिलो अन्तर्राष्ट्रिय विकेट लिए।

लगातार तीन म्याचमा औसत प्रदर्शनपछि अन्तर्राष्ट्रिय टि–२० मा साढे तीन वर्षपछि उनले खेल्ने मौका पाए। अहिले पनि अन्तर्राष्ट्रिय टि–२० मा उनको नियमित स्थान रहेको छैन।

एकदिवसीयमा सिराजको यो वर्ष

२०१९ मा भारतीय टिममा चयन हुँदा जसप्रित बुमराह र मोहम्मद शमी टिमका मुख्य बलर थिए। यद्यपि तेस्रो बलरको आवश्यक्ता हुँदा सिराजले खेल्ने मौका पाउने गरेका थिए।

अस्ट्रेलियाविरूद्ध एडिलेड अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका सिराजले आफ्नो पहिलो म्याचमा १० ओभरमा ७६ रन खर्चिए। त्यसको तीन वर्षपछि सन् २०२२ मा उनले दोस्रो एकदिवसीय खेल्ने मौका पाए।

ठीक लाइन र लेन्थमा सटिक बलिङ गरेर विपक्षी टिमका शीर्ष ब्याटरलाई हैरान गर्नुका साथै विकेट लिन थालेपछि टिममा उनको उपयोगिता बढ्दै गयो।

पछिल्लो वर्षदेखि उनी भारतीय टिमबाट निरन्तर खेलिरहेका छन्।

अहिलेसम्म २९ म्याचमा सिराजले ५९ विकेट लिइसकेका छन्। यो वर्ष सिराज फरक रूपमा देखिएका छन्।

आइपिएलमा सफल भएका उनी यो वर्ष अहिलेसम्म खेलिएका १२ एकदिवसीयमा २९ विकेट लिइसकेका छन्।

 

Tags: