post-slider post-slider

विश्वकप फाइनल : अस्ट्रेलियालाई हराउन भारतका लागि कति कठिन?

Image
A A

काठमाडौं- विश्वकप २०२३ अन्तर्गत कोलकत्ताको इडन गार्डेनमा खेलिएको दोस्रो सेमिफाइनल अस्ट्रेलियन टिमका लागि  यो प्रतियोगितामा ‘दमदार’ पुनरागमनको दह्रिलो उदाहरण हो।

टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको दक्षिण अफ्रिका टिम मिचेल स्टार्क र जौस हेजलवुडले दिएको झड्काबाट उभो पाउनसकेन। र, डेभिड मिलरको शतकका बाबजुद स्कोरबोर्डमा केवल २१२ रनमै सीमित भयो।

केवल २४ रनमै दक्षिण अफ्रिकाका शीर्ष क्रमका चार ब्याटर प्यावेलियन फर्किएपछि म्याचमा नयाँ मोड आयो।

यसका साथै दक्षिण अफ्रिकाका सम्पूर्ण टिम पूर्ण रूपले ‘ब्याकफुट’ मा आउन बाध्य भयो। यद्यपि मिलरले एक छेउ सम्हाले। त्यसपछि मात्र स्कोर सय पार गरेको थियो।

अस्ट्रेलिया ब्याटिङमा आउँदा डेविड वार्नर र ट्रेविस हेडले लिएको गतिपछि म्याच चाँडै सकिने अनुमान धेरैले गरेका थिए।

तर, यो जोडी टुटेसँगै एकपछि अर्को गरी अस्ट्रेलियाको ७ विकेट आउट भयो। टेम्बा बबुमाका स्पिनरहरूले सजिलै गरी अस्ट्रेलियाका ब्याटरहरूलाई रन बनाउन दिएनन्।

अस्ट्रेलियाका ब्याटरहरूलाई एक–एक रनका लागि मिहिनेत गर्नुप¥यो।

यो विश्वकपको सुरूवात अस्ट्रेलियाले लगातार दुई हारबाट गरेको थियो। पहिलो म्याच उसले भारतसँग हारेको थियो भने दोस्रो म्याचमा दक्षिण अफ्रिकाले १३४ रनले पराजित गरेको थियो।

तर, सुरूको दुई म्याचबाहेक अस्ट्रेलियाले अरू कुनै खेलमा हारको सामना गर्नुपरेन। र, लगातार आठ म्याच जितेर फाइनलमा स्थान पक्का गरेको छ।

म्याचपछि अस्ट्रेलियाका कप्तान पैट कमिन्सले खेलको केही घन्टाले ज्यादै चिन्तित बनाएको बताए।

उनले भने,‘डगआउटमा बसेर सबैथोक सहज लागि रहेको थियो। तर, केही घन्टा ज्यादै चिन्ता उत्पन्न गर्नेवाला थियो। दमदार प्रयासपछि यो प्रतिस्पर्धा शानदार रह्यो।’

कमिन्सले भारतविरूद्ध फाइनल खेल्नका लागि आफूहरू ज्यादै उत्सुक रहेको बताए।

‘केही सदस्यले पहिले पनि विश्वकप खेलिसकेका छन्। यो टिमका लागि राम्रो पक्ष हो। २०१५ विश्वकपको फाइनल अझै सम्झनामा छ। अब अझै एउटा विश्वकपको फाइनल, त्यो पनि भारतसँग। प्रतिक्षा गर्न कठिन छ,’ उनले भने।

‘प्लेयर अफ द म्याच’ भएका ट्रविस हेडले भारतीय टिमको अट्याक मजबुत रहेको बताए।

भारतलाई तेस्रो विश्वकप जित्ने मौका

आइतबार भारतसँग एकदिवसीय क्रिकेटको विश्वकप जित्ने तेस्रो मौका रहेको छ।

भारतीय टिम महेन्द्रसिंह धोनीको कप्तानीमा १२ वर्षअघि श्रीलंकालाई पराजित गरेर अन्तिमपटक विश्वकप जितेको थियो।

पहिलोपटक यो प्रतिष्ठित ट्रफी भारतले कपिल देवको नेतृत्वमा सन् १९८३ मा जितेको थियो।

तर, अस्ट्रेलियाविरूद्ध जित निकाल्नु त्यति सहज हुनेवाला छैन।

अस्ट्रेलियाले सेमिफाइनलमा त्यही दक्षिण अफ्रिकालाई पराजित गरेको छ जोसँग दोस्रो लिग म्याचमा १३४ रनले पराजित भएको थियो।

यो प्रतियोगिताको पहिलो प्रतिस्पर्धा अस्ट्रेलियाले भारतसँग हारेको थियो।

अब एकपटक फेरि यो दुवै टिम आगामी आइतबार फाइनलमा भिड्नेछन्।

२००३ को फाइनलमा अस्ट्रेलियासँग हारेको थियो भारत

अस्ट्रेलिया आठपटक विश्वकपको फाइनलमा प्रवेश गरिसकेको छ  जसमध्ये पाँचपटक उसले उपाधि जितेको छ।

अर्कोतर्फ भारत चौथोंपटक विश्वकप फाइनल खेलिरहेको छ। भारतले दुईपटक यो ट्रफी जितेको छ भने एकपटक २००३ मा उपविजेता भएर सन्तोष गर्नुपरेको थियो।

२००३ को विश्वकप फाइनलमा भारतलाई पराजित गर्ने टिम अरू कोही नभएर अस्ट्रेलिया नै थियो।

त्यो बेला अस्ट्रेलियाले १२५ रनले भारतलाई पराजित गरेर तेस्रोपटक विश्वकप जितेको थियो।

बिहीबार अस्ट्रेलिया फाइनलमा पुगेसँगै एकपटक  फेरि सामाजिक सञ्जालमा विश्वकप २००३ को चर्चा सुरू भएको छ।

भारतका कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘फाइनलमा अस्ट्रेलियालाई पराजित गरेर २००३ को हिसाब बराबर गर्ने’ लेखेका छन्।

यस्तो छ ‘हेड टु हेड’

एकदिवसीयमा अस्ट्रेलियाविरूद्ध भारतको प्रदर्शन ज्यादै उत्साहवद्र्धक छैन।

दुवै टिम अहिलेसम्म १५० एकदिवसीयमा भिडिसकेका छन्। अस्ट्रेलिया ८३ जितका साथ भारतबाट ५७ ले अगाडि छ।

त्यस्तै विश्वकपमा दुवै टिमले एकअर्काविरूद्ध १३ म्याच खेलिसकेका छन्। यहाँ पनि अस्ट्रेलिया ८–५ ले अगाडि छ।

तर, भारतीय भूमिमा दुवै टिमबीच कडा टक्कर हुने गरेको छ। भारतमा खेलिएको ७१ एकदिवसीय खेलमा दुवै टिमले समान ३३–३३ म्याच जितेका छन्।

यो वर्ष खेलिएको ७ म्याचको नतिजालाई हेर्ने हो भने चार खेल जितेर भारत केही अगाडि देखिएको छ।

यो विश्वकपलाई हेर्ने हो भने भारतका शीर्षक्रम होस् वा मध्यक्रम सबै फर्ममा देखिएका छन्।

विराट कोहलीले अन्य टिमका ब्याटरहरूको तुलनामा धेरै बढी ७११ रन बनाइसकेका छन् भने रोहित शर्मा (५५०) र श्रेयस अय्यर (५२६) रन बनाएका छन्।

अस्ट्रेलियाका तर्फबाट डेविड वार्नरले सर्वाधिक ५२८ रन बनाएका छन्। उनका साथै ग्लेन मैक्सवेल र मिशेल मार्शले २–२ शतक बनाएका छन्।

बलिङतर्फ हेर्ने हो भने सबैभन्दा अगाडि रहेका मोहम्मद शमीले मात्रै ६ म्याचमा २३ विकेट लिएका छन्। उनीभन्दा एक विकेट कम लिएका छन् अस्ट्रेलियाका एडम  जैम्पा।

जसप्रित बुमराह (१८), रवीन्द्र जडेजा (१६), कुलदीप यादव (१५) र मोहम्मद सिराजले (१३) विकेट लिएका छन्।

अस्ट्रेलियाका जौस हेजलवुड (१४) र मिचेल स्टार्क (१३) विकेट लिएका छन्।

यो विश्वकपको फाइनलमा कडा टक्कर हुने अपेक्षा गरिएको छ।

 

Tags: