post-slider post-slider

प्रचण्डको तेस्रो शासनकाल : परिवारवादलाई झनै प्रश्रय!

Image
A A

काठमाडौं- एनसेल सेयर खरिदबिक्रीमा सरकारमाथि प्रश्न उठिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनीको काठमाडौंको महँगोमध्ये पर्ने गोकर्ण रिसोर्टमा भएको विवाहले चर्चा पायो।

गोकर्ण रिसोर्टमा प्रचण्डकी नातिनीको विवाह ‘भव्य’ रूपमा सम्पन्न भयो।

जनयुद्धताका स्वयंले विरोध गर्ने ‘भड्किलो विवाह’ मा प्रचण्डले घरमुली बनेर कानुनले तोकेकोभन्दा बढ्ता सयौं निम्तालुलाई स्वागत गरिरहेका थिए।

सशस्त्र संघर्षका बेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी समान्य तरिकाले हुने ‘जनवादी’ विवाहलाई प्रोत्साहन गर्ने गरेको थियो।

प्रचण्डकी नातिनीको विवाह गोकर्ण रिसोर्टमा सकिएको पर्सिपल्ट माओवादी केन्द्रको ‘विशेष रूपान्तरण अभियान’ लाई सम्बोधन गर्न नुवाकोट पुगेका पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा लेखे– लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरू भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन।

कुनै समय माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका रूपमा तत्कालीन व्यवस्था र विरोध दलविरूद्ध चर्को भाषण गर्ने न्यौपानेले पछिल्लो समयका सामाजिक सञ्जालमा व्यक्त गरेका धेरैजसो धारणाहरू आफ्नै पार्टी र नेतृत्वतर्फ बढी सोझिएका देखिन्छन्।

केही दिनअघि प्रचण्ड स्वयं एनसेलको सेयर खरिदबिक्रीबारे जवाफ दिन प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पुग्दा आफ्ना परिवार जोडिएका प्रश्नहरूको सामना गरे।

परिवारलाई जोडेर आफूलाई ‘ह्युमिलेट’ र ‘डिप्रेस’ गराउन खोजिएकोउनको जवाफ थियो।

समितिमा कतिपय सांसदले स्वकीय सचिवसमेत रहेकी उनकी छोरी गंगा दाहालबारे प्रश्न उठाउँदा प्रचण्डले ‘गणतन्त्र र व्यवस्थामाथिको प्रहार’ बताए।

उनले भनेका थिए,‘मेरा  परिवारका सदस्यहरू घट्दै गएर तीन जना रहेका छौं। जसमध्ये एक जना (रेणु दाहाल) भरतपुर नगरपालिकाको मेयर छ। ऊ उतै बढी इन्गेज हुन्छे। अर्की छोरी गंगा दाहाललाई जोडेर बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरूद्धको हमला हो।’

प्रचण्डको परिवारमोह

स्वकीय सचिव रहेकी प्रचण्डकी कान्छी छोरी देशभित्रै र बाहिर हुने महत्वपूर्ण बैठकहरूमा सहभागी भएको देखिन्छिन्।

खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सि जिन्पिङसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा उनी प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना भएको थियो।

प्रतिनिधिसभाका केही सदस्यले ती बैठकहरूमा गंगा कुन ओहोदामा सहभागी भएको भनेर प्रश्नसमेत उठाएका थिए।

माइली छोरी हाल दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिकाकी मेयर छिन्।

पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी थिइन्।

दोस्रोपटक भरतपुर महानगरपालिकाको मेयरमा रेणुलाई उम्मेदवार बनाउन प्रचण्डले गठबन्धनभित्र ठूलो जोडबल गरे।

मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेपछि उनलाई निर्वाचित गराउन गठबन्धनका नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

कान्छी छोरी गंगाका पति जीवन आचार्य कोसी प्रदेसमा यसै वर्ष दुईपटक मन्त्री बने।

एक महिनाको अन्तरालमा उनी कोसी प्रदेसमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजनामन्त्री बने।

दोहो¥याएर उनैलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीकाबीच समेत प्रचण्ड आफ्नो निर्णयबाट पछि हटेनन्।

माओवादी सशस्त्र द्वन्द्वमा रहेका बेला सक्रिय  भूमिकामा रहेका राजनीतिक विश्लेषक रोशन जनकपुरी संसदीय राजनीतिमा प्रवेश गरिसकेपछि प्रचण्डले आफूलाई भिन्न राख्न नसक्दा यस्ता आरोप लाग्नु स्वाभाविक भएको बताउँछन्।

‘संसदीय राजनीतिको एउटा चरित्र हुन्छ, त्यो हिसाबले हेर्ने हो भने प्रचण्ड भिन्न छैनन्। अरू संसदीय राजनीतिका नेता जस्तै उनी पनि छन्,’ जनकपुरी भन्छन्,‘छोरी, नातिनीलाई लिएर प्रचण्डलाई घेर्नु एउटा कुराभयो। तर, आरोप लगाउनेहरू पनि भिन्न त छैनन् नि।’

राजनीतिमै पछि हटिसकेपछि माओवादीले अंगालेको सिद्धान्त र विचारबाट ब्याक हुनु प्रचण्डका लागि ठूलो कुरा नभएको उनको भनाइ छ।

‘राजनीतिमै ब्याक भइसकेपछि जनवादी विवाहको धारणबाट ब्याक हुनु ठूलो कुरा नै भएन। व्यक्तिगत दृष्टिकोणले हेर्ने हो भने प्रचण्डले आफूलाई जोगाउने प्रयास गरेका छन्,’ जनकपुरी थप्छन्,‘तर, छोरी, नातिनी, ज्वाइँ उनकैअनुसार हिँड्छन् भन्ने हुँदैन।’

आलोचित नहुनेगरी आफूलाई प्रस्तुत गर्न सक्दा प्रचण्डका लागि उपयुक्त हुने भए पनि कहिँकतै चुक भएको जनकपुरीले बताए।

 

Tags: