post-slider post-slider

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली!

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बस्नेतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदनसम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, प्रयागराजबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवासमेत भइ अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको यो कार्य भ्रष्टाचार निवारण ऐनबमोजिम कसुर भएको थपलियाले बताए।

बस्नेतलाई भ्रष्टाचार निवारण ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले जानकारी दिएका छन्।

 

Tags: