post-slider post-slider

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र ‘गौरव’ को आयोजनामा

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई गौरवको आयोजना र स्वर्णिम योजनामा राखेको छ।

महानगरका मेयर साहले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई गौरवको आयोजना र स्वर्णिम योजनामा राखेका हुन्।

सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा गौरवको योजनाअन्तर्गत महानगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति गरी सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रूपान्तरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याउने विषय पनि नीति तथा कार्यक्रममा रहेको छ। ‘महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइनेछ।

निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ,’ स्वर्णिम योजनाका विषयमा भनिएको छ।

लक्षित वर्गका लागि स्वास्थ्य बिमा सम्बन्धी कार्यविधि तयार गरी कार्यक्रम सञ्चालन गरिने, विपन्न र असहाय विरामीले पाउने निशुल्क तथा विशिष्ट सहुलियत सहितको स्वास्थ्य सेवा तथा अन्य स्वास्थ्य सेवाको लागि अस्पतालसँग समन्वय र सहकार्य गरिनेछ।

आरोग्य जीवनका लागि फिजिकल हेल्थ, मेन्टल हेल्थ, ध्यान, योग चिकित्साजस्ता वैकल्पिक उपचार पद्दतिको कार्यक्रमहरू अन्य सम्वद्ध पक्षसँगको सहकार्यमा सञ्चालनमा ल्याइनेछ।

पूर्वीय दर्शन शिक्षा, परम्परागत आयुर्वेदिक उपचार पद्दति प्रवर्धन तथा हेल्थ टुरिजम जस्ता कार्यहरूलाई प्रोत्साहित गरिनेछ। नेपालमा उत्पादित जडिबुटीहरूको प्रशोधन केन्द्र सञ्चालनमा सहयोग गरी सिंहदरवार वैद्यखाना र नरदेवी आयुर्वेदिक अस्पतालसँग सहकार्य गरिनेछ।

सामुदायिक अस्पतालको स्तरोन्नतिको लागि सहयोग गरिने, क्यालोरीमा आधारित उपभोग प्रणाली लागु गर्ने नीतिलाई निरन्तरता दिइने, महानगरको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा ९१०२ हटलाइन० लाई निरन्तरता दिइनेछ।

 

Tags: